कोसेली - संकेत शब्दकोश

कान्तिपुर संवाददाता
काठमाडौँ — सांकेतिक भाषाको महत्त्व र महत्ता झल्काउने गरी हालै ‘नेपाली सांकेतिक भाषा शब्दकोश’ प्रकाशनमा आएको छ । राष्ट्रिय बहिरा महासंघले प्रकाशित गरेको शब्दकोशमा ४ हजार ७ सय शब्द समेटिएका छन् । विकास घिमिरे र किरण आचार्यको सम्पादन, विकास घिमिरे र शीलु शर्माको भाषालेखन, प्रतिज्ञ शाक्यले हरेक शब्दको संकेत झल्किने चित्र कोरेका छन् भने हस्तआधार वर्गीकरण किरण आचार्य र सन्तोष पौडेलले गरेका छन् ।

कोश प्रकाशनमा अस्ट्रेलियन दूतावासको सहयोग रहेको छ । महासंघले यसअघि स–साना आकारमा आधा दर्जन सांकेतिक भाषाका पुस्तक प्रकाशन गरेका जानकारी पाइन्छ ।
सांकेतिक भाषा आवाजविहीन भाषा हो । यो बोली भाषा होइन । सांकेतिक भाषामा संकेतहरूले वर्णको प्रतिनिधित्व गर्दैन जसरी बोली भाषामा ध्वनिले गरेका हुन्छन् । बहिरा व्यक्तिहरूले ध्वनि सुन्दैनन् । सांकेतिक भाषाका ६ वटा मुख्य आधारहरू रहेका हुन्छन्– १) हातको आकार, २) हातको स्थान, ३) प्रयोग हुने हातको संख्या, ४) हातको अभिमुखीकरण, ५) गति र ६) गैर–हस्त तत्त्व । सांकेतिक भाषामा जसरी हस्त आकार, हातको स्थान, हातको संख्या महत्त्व रहन्छ, त्यसरी नै अनुहारको भाव, शरीरको चालको पनि विशिष्ट महत्त्व रहन्छ । सांकेतिक भाषाको व्याकरण तथा वाक्य बनोटमा अनुहारको भावले विशिष्ट महत्त्व राख्दछ ।

कुनै पनि भाषाको निश्चित भूगोल हुन्छ । सांकेतिक भाषा विश्वव्यापी भएर पनि यसको पनि भूगोल रहेको छ । यो शब्दकोशले नेपालीपनलाई बोकेको छ । नेपाली सांकेतिक भाषामा सातवटा बारलाई आफ्नै खालको संकेत पहिचान गरिएको छ । शब्द जत्तिकै चित्रसंकेत सशक्त ढंगले प्रस्तुत गरिएकाले सांकेतिक भाषाको महत्त्वलाई उज्यालो पारको भन्न सकिन्छ । दैनिक जीवनमा सामान्य ढंगले प्रयोग हुने शब्दहरूको संकेत, पारिवारिक साइना, नातागोता, पदीय हैसियत, खानपान, खाद्यान्न, अर्थवाणिज्य, कानुन, प्रशासन, संस्कार संस्कृति, लोकपरम्परा, कृषि, प्रकृति, मौसम, वनस्पति, स्वास्थ्य, शिक्षा, राजनीति, विज्ञान प्रविधि, देशका नामहरू, स्थानीय नामहरू, भूगोल, इतिहास, खेलकुदजस्ता पक्षका शब्द र सांकेतिक अर्थ समेटिएका छन् । कतिपय शब्द दोहोरिएका छन् भने आधाभन्दा बढी अंग्रेजी शब्द र संकेत समेटिएका छन् । जसले गर्दा ‘नेपांग्रेजी सांकेतिक भाषा शब्दकोश’ भन्दा पनि हुनेजस्तो महसुस हुन्छ ।

परिचय खण्डमा प्रयोग गरिएका अक्षर फन्ट साइज र चित्र संकेत ज्यादै सानो हुनु, हिज्जे प्रयोगमा एकरूपता नहुनु, मुद्राराक्षसलाई मिहिन ढंगले नकेलाइनु कमजोरी पक्ष हुन् । यो शब्दकोश प्रकाशन गर्नुअघि देश, काल, परिवेशअनुकूल बहिरा समुदायका अन्य विद्वत्माझ प्राज्ञिक बहस चलाइएको भए माथि औंल्याइएका कमजोरीहरूले ठाउँ पाउने थिएनन् ।
—गणेश राई
प्रकाशित : भाद्र ९, २०७५ ०८:३६https://www.kantipurdaily.com/koseli/2018/08/25/153516548867353261.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal