विचार - स्कुल नगई–नगई जाँडको व्यापार

विद्या राई
दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदी–बहिनीमध्ये कान्छी उनी ४ कक्षामा पढ्छिन् । तर प्राय: विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधकोशी र आमचोक गाउँपालिकाको सिमानामा पर्ने एखावा खोलाको दोभानमा भेटिन्छिन् । यहाँ उनका बुबा–आमा जाँड व्यापार गर्छन् ।



२ कक्षा पढ्दादेखि बुबा–आमालाई जाँड बनाउन सघाइरहेकी रमिता अहिले उहाँहरूले नभ्याउँदा जाँड बनाउने, छान्ने र बेच्ने काम आफैं गर्छिन् । 
दक्षिणी भेगका दुम्माना, देवान्टार, पावला, पाँचा र हसनपुरको केन्द्र हो, एखावा खोला दोभान । दिनहुँ बटुवा यो बाटो ओहोर–दोहोर गर्छन् । उनीहरू दोभानमा रोकिएर थकाइ मार्ने मेलो बन्छ– रमिताका बुबा–आमाले बनाउने त्यही जाँड । एक बटुको जाँड २० रुपैयाँमा बेचेर रमिताका बुबा–आमा दिनभरमा दुई हजार रुपैयाँसम्मको कारोबार गर्छन् । त्यसबाटै रमिता, उनका दाजु र दिदीहरूको लालनपालन, पढाइ खर्च जोहो हुन्छ । रमिता भन्छिन्, ‘बुबा–आमाको काम देखेर मैले पनि सिकँें । अब आफैं जाँड बनाएर पनि बेच्न सक्छु ।’
सदरमुकाम भोजपुरबाट दुई दिन पैदल हिंँडेपछि पुगिन्छ, बालंखा बजार । बालंखा दक्षिणी भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र हो । सदरमुकामबाट १६ कोस टाढा पर्ने बालंखामा प्रत्येक शुक्रबार हाट लाग्छ । त्यस दिन यहाँका होटल र घरहरूमा जाँड र रक्सीको व्यापार थेगिनसक्नु हुन्छ । बिहानदेखि राति अबेरसम्म ग्राहकको भिडभाड हुन्छ, होटलमा । ११ वर्षीया रञ्जिता राई त्यही भिडभाडमा भेटिन्छिन् । ग्राहकलाई जाँड बनाएर दिने, भाँडाबाट रक्सी सारिदिने र सितन बनाइदिने काम गर्छिन्, उनी । 

रञ्जिताको घर खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा पर्छ । बालंखामा उनी सानिमाको घरमा बस्छिन् । स्थानीय विद्यालयमा तीन कक्षामा पढिरहेकी रञ्जिताले यता आएपछि पढाइ पनि छाडिन् । उनले घर छाडेर हिँंड्नुको कारण रहेछ– जाँडरक्सीको व्यापार । 
रञ्जिताको घरमा उनीभन्दा एक वर्ष जेठा दाजु, ८ र ५ वर्षीया बहिनी तथा तीन वर्षको भाइ छन् । जाँडरक्सी बनाएर बेच्नु बाआमाको मुख्य पेसा । दाजुपछि घरकी जेठी सन्तान भएकाले बुबा–आमाले उनलाई पनि जाँडरक्सी बनाउन लगाउँदा रहेछन् । ‘घरमा जाँडरक्सी मात्र बनाएर बस्नुपथ्र्यो, दिक्क लागेर सानिमाकोमा आएँ, अनि त पढ्न पनि छाडिदिएँ’ रञ्जिता भन्छिन्, ‘सानिमालाई जाँडरक्सी बनाउनचाहिँं सघाउँछु, तर यहाँ घरमा जस्तो किचकिच छैन ।’ 
१४ वर्षीया संगिना राईको घर हतुवागढी गाउँपालिका वडा नम्बर २ मा पर्छ । ६ कक्षामा पढिरहेकी संगिनाको मुख्य काम आमालाई जाँडरक्सी बनाउन र बेच्न सघाउनु हो । स्कुल नगएको बेला धेरैजसो समय उनी आमासँगै बसेर जाँडरक्सी बनाउँछिन् ।
संगिनाका बुबा सानैमा बिते । घरमा कमाउने कोही छैन । दुई छोरी हुर्काउन आमाले जाँडरक्सी बेच्न थालेकी हुन् । हिजोआज संगिना र उनकी बहिनी दिनहुँ दाउरा जोहो गर्न वनजंगल जान्छन् । आमालाई सघाउँदा–सघाउँदा अब उनीहरू आफैं जाँडरक्सी बनाएर बेच्न सक्ने भएका छन् । संगिना भन्छिन्, ‘बुबा हुनुभएको भए, यसरी दु:ख गर्नुपर्ने थिएन होला, के गर्नु आमालाई सघाउनैपर्‍यो ।’ जाँडरक्सी बेचेर महिनामा दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाउँछन्, उनीहरू । त्यही कमाइबाट घर खर्च गरेर कापी–कलम र स्कुल ड्रेसको पनि जोहो गर्नुपर्छ । 
***
बालापनमै हिंसा 
भोजपुर जिल्ला कुनै बेला देशकै प्रमुख शैक्षिक केन्द्र थियो । विसं १९३२ मा बालागुरु षडानन्दले उत्तरी दिङ्लामा संस्कृत पाठशाला खोलेपछि त्यतिबेलै यो जिल्ला शैक्षिक केन्द्रको रूपमा चिनिन्थ्यो । षडानन्द मावि दिङ्लाका प्रधानाध्यापक गोपालप्रसाद तिम्सिनाका अनुसार उक्त पाठशाला जनस्तरबाट खोलिएको देशकै पहिलो र काठमाडौंको दरबार हाइस्कुलपछिको दोस्रो थियो । देशमा राणाशासनको जगजगी रहेको बेला जनताका छोराछोरीलाई अक्षर चिन्ने ‘छुट’ नहँुदा पनि भोजपुरले शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेको थियो । तिम्सिनाका भनाइमा अब भोजपुरसँग शिक्षाको त्यो वैभवको इतिहासमात्रै बाँकी छ । 
जिल्ला शिक्षा कार्यालय भोजपुरको अभिलेखले देखाउँछ– शैक्षिक स्तर वर्षेनि खस्कँदो छ । २०६९ सालको एसएलसी परीक्षामा यहाँबाट १३.३० प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका थिए । २०७० मा त्यो १२.२९ प्रतिशतमा झर्‍यो । २०७१ मा उत्तीर्ण दर १७.९८ प्रतिशत पुग्यो । २०७२ देखि एसएलसी परीक्षा फेरिएर ‘एसईई’ भयो र नतिजा पनि ‘ग्रेडिङ’ पद्धतिमा गयो । त्यस अनुसार भएको २०७३ सालको परीक्षामा सहभागी ३ हजार ५० विद्यार्थीमध्ये एकजनाले पनि ‘ए प्लस’ ल्याएनन् । ए, बी प्लस र बी ‘ग्रेड’ ल्याउने क्रमश: ३२, ८३ र १६४ मात्र थिए । 
भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठ भन्छन्, ‘धेरै अभिभावक जाँडरक्सी सेवन र बेचबिखनमा यसरी जोडिएका छन् कि उनीहरू छोराछोरीलाई राम्ररी पढाउनुपर्छ भनेर पनि सोच्दैनन् । बालबालिकालाई पढ्ने वातावरण नै हुन्न ।’ 
राणाकालमा पूर्व ४ नम्बर (माझकिरात) का नामले चिनिने भोजपुर राई समुदाय बाहुल्य जिल्ला हो । जिल्लामा जनसंख्याको ३८.४९ प्रतिशत राई समुदायको बसोबास छ । यो जिल्लाले किरात राईको सभ्यता र संस्कृतिको उद्गम थलोका रूपमा समेत गर्व गर्छ । तर संस्कार र परम्पराका नाममा अपनाइएका कतिपय चलनले समुदायभित्र डरलाग्दो विकृति निम्त्याइरहेको छ । 
राई समुदायमा जाँड र रक्सीलाई संस्कृति र रीतिरिवाज धान्ने वस्तुका रूपमा ग्रहण गरिन्छ । चलनचल्तीको भाषामा जाँडलाई ‘छ्याङ’ र रक्सीलाई ‘हेङ्मावा’ भनिन्छ । ‘हाम्रो समुदायमा जन्मेदेखि मृत्युपर्यन्त छ्याङ र हेङ्मावा चाहिन्छ । कुलपितृलाई चढाउन, बिटुलो चोख्याउन, विवाह, भोजभतेर लगायतका सबै सांस्कृतिक कार्यमा यो अनिवार्य चाहिन्छ । किरात राईको प्रत्येक घरमा छ्याङ र हेङ्मावा बनाउनैपर्छ,’ किरात राई यायोक्खा भोजपुरकी अध्यक्ष सिर्जना राई भन्छिन्, ‘संस्कृतिलाई पुस्ता–दरपुस्तामा हस्तान्तरण गर्दै जाने क्रममा बालबालिकालाई पनि सिकाउनैपर्‍यो ।’ 
संस्कृतिलाई अलग गरेर व्यापारका दृष्टिले हेर्दा पनि यो सजिलो व्यवसाय भएको छ । गाउँमा जाँडरक्सीको व्यापार गर्न पसल दर्ता गर्नु पर्दैन । बजार, दोबाटो जहाँसुकै एक जर्किन रक्सी राखेर बेच्न बसे हुन्छ । जतिबेला गर्जो पर्छ, त्यसलाई फुकाउन सजिलो छ, यो व्यापार । यसका एकथरी स्थायी व्यापारी हुन्छन्, जो सदरमुकाम र गाउँका बजारमा हुन्छन् । अर्काथरी अस्थायी हुन्छन्, जसले स्थायी व्यापारीको आवश्यकता धानिदिन्छन् । गाउँमा यस्ता अस्थायी व्यापारी घरैपिच्छेजसो हुन्छन् । 
जिल्लाको दक्षिणी भेगका पाङ्चा, बालंखा, दुम्माना, वासिङथर्पु, होम्ताङ, खैराङ, हसनपुर, रानीबास, पूर्वी क्षेत्रको बास्तिम, सानो दुम्मा, ठूलो दुम्मा, जरायोटार, चरम्बी, चम्पे, पश्चिमी क्षेत्रका छिनामखु, खावा, नागी, कोट, गोगने, तिम्मा, अन्नपूर्ण तथा उत्तरतर्फका दोभाने, कुलुङमा जाँडरक्सीको उत्पादन र बजारीकरण बढ्दो छ । महिला तथा बालबालिका कार्यालय, भोजपुरकी अधिकृत पुष्पलता उप्रेती भन्छिन्, ‘हामी संख्यामा भन्न सक्दैनौं, तर सदरमुकाम र दक्षिणी घोडेटार बजार, लेगुवाघाट, सुनबालुवा, कात्तिके पुल, मचुवाटार लगायतका स्थानमा जाँडरक्सीको उत्पादन र बेचबिखनमा बालबालिकाको प्रयोग धेरै छ ।’ 
हुन पनि यी गाउँमा जाँडरक्सी बनाउन र बिक्री–वितरण गर्ने काममा छोरीहरू नै धेरै संलग्न भेटिन्छन् । महिला अधिकारकर्मी सबिना राई भन्छिन्, ‘घरायसी कामसँगै सानोतिनो कमाइका लागि अभिभावकलाई छोरीहरूले सहयोग गर्नुपर्ने चलन पहिल्यैदेखिको हो ।’ उनका भनाइमा, ‘अब त आफैंले बिक्री गरेको जाँडरक्सी खाएर उत्तेजित हुने अनि आफैंमाथि हिंसा गर्न आइलाग्ने झमेला पनि छोरीहरूले नै बेहोर्नु परिरहेको छ ।’ 
भर्खरै भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भोजपुरका सबैजसो गाउँ घुमेका नेपाली कांग्रेस महासमिति सदस्य हेमन्त मुकारुङको बुझाइ पनि त्यस्तै छ । उनी भन्छन्, ‘जाँडरक्सीलाई संस्कृतिका रूपमा लिने परम्पराले बालबालिकामा असर पारेको छ । बालबालिका आय आर्जन र पढाइ खर्च जुटाउने नाममा जाँडरक्सीसँग जोडिए ।’ एमाले जिल्ला कमिटी सचिव शरणकुमार राई भन्छन्, ‘राई समुदायको शतप्रतिशत घरमा जाँडरक्सी पाक्छ । सत्कार–सम्मानमा बालबालिका प्रयोग हुने भए । यसले उनीहरूको अध्ययन र वृत्ति–विकासमा असर पारिरहेको छ ।’ 
 
नाम मात्रको नियन्त्रण
यो जिल्लामा मात्रै जाँडरक्सी बनाउने र बिक्री–वितरण गर्ने काममा कति बालबालिका संलग्न होलान् ? औपचारिक अध्ययन छैन । तर जिल्लाका सार्वजनिक पदाधिकारी र निकायले यसको रोकथामका लागि भनेर निर्धारण गर्ने प्राथमिकताले समस्याको आकार अनुमान गर्न सघाउँछ । भोजपुर सरुवा भएर आउने सबैजसो प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखले स्थानीय मदिराको बिक्री–वितरण र त्यसमा प्रयोग भइरहेको बालश्रम नियन्त्रण गर्नु आफ्नो प्राथमिक काम रहेको बताउने गर्छन् । सर्वदलीय बैठकहरूमा पनि यस्तो ‘माइन्युटिङ’ हुने गर्छ । 
जिल्लामा यो समस्या कति ठूलो छ ? हामीले स्थानीय चण्डेश्वर मावि, बालंखाका प्रधानाध्यापक कपिल गुरागाईंलाई सोध्यौं । ‘अभिभावक नै जाँडरक्सी उत्पादन र बिक्री–वितरणमा संलग्न भएपछि बालबालिका स्वत: त्यसमा संलग्न हुँदारहेछन्, मेरै विद्यालयमा पढ्ने बालबालिकाका ७५ प्रतिशत अभिभावक जाँडरक्सी उत्पादन र बिक्री–वितरणमा संलग्न छन्,’ गुरागाईंले भने, ‘आर्थिक उपार्जनका लागि अभिभावकले नै बालबालिकालाई यो काममा लगाउँछन् ।’ 
पूर्वी सानोदुम्मा माविका प्रधानाध्यापक अर्जुन राईको बुझाइ पनि यस्तै छ । प्रधानाध्यापक राई भन्छन्, ‘घरायसी प्रयोजनका लागि हुने जाँडरक्सीको उत्पादन र खपतमा त बालबालिका प्रयोग भएकै थिए, अहिले त बेच्नसमेत प्रयोग भइरहेका छन्।’ 
पश्चिमी टेम्केमैयुङ गाउँपालिका–५, खावास्थित पशुपति माविका प्रअ पूर्ण राईका अनुसार संस्कृतिका नाममा जाँडरक्सी बनाउने चलन घरैपिच्छेजसो हुन्छ । ‘यसो हुँदा पकाई–तुल्याई गर्ने, खाने–बेच्ने काम बालबालिकाको नियमित कामजत्तिकै हुने भयो,’ उनी भन्छन् । 
यस्तो प्रचलनले जिल्लाकै शैक्षिक विकासमा अवरोध पुर्‍याएको ठान्छन्, जिल्ला शिक्षा अधिकारी डम्बर आङदेम्बे । उनी भन्छन्, ‘संस्कृति परम्पराका रूपमा घर–घरमा जाँडरक्सी उत्पादन, सेवन अनि बिक्री–वितरण गर्दा त्यसको पहिलो असर बालबालिकामाथि पर्ने हँुदा उनीहरूको चौतर्फी विकासमा बाधा पुगेको छ ।’ जिशिअ आङदेम्बेका भनाइमा, त्यस्ता विद्यार्थी विद्यालयमा धेरैजसो अनुपस्थित हुने र कतिपय त मदिरा सेवन गरेरै विद्यालय आउने गरेको समेत भेटिएको छ । उनी भन्छन्, ‘यसले सिंगो समुदायको शैक्षिक, आर्थिक र सामाजिक विकासमा असर पारेको छ ।’ 
जाँडरक्सी उत्पादन र बिक्री–वितरणको असर स्कुलमा परिरहेको छ । केही समय पहिलेको कुरा हो, हतुवागढी गाउँपालिकाको रानीबासस्थित एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक बाह्रैमास जाँडले मातेर विद्यालय आउने गर्थे । शिक्षक र विद्यार्थीको पटक–पटकको गुनासोपछि जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा पनि उनी मातेर विद्यालय आएको अवस्थामा फेला परे । उनलाई प्रधानाध्यापकबाट शिक्षकमा घटुवा गरियो, विद्यालयमा अर्का प्रधानाध्यापक पठाइयो । रानीबासकै अर्को एउटा प्राथमिक विद्यालयका शिक्षकको त जागिर नै गयो । त्यसयता पनि भट्टीमा पसेर मात्रै विद्यालय पुग्ने प्रवृत्तिमा कमी आएको छैन । 
कतिपय विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र समाजका बुद्धिजीवीसमेत विद्यालयको बैठकमा मातेर पुगेका उदाहरण छन् । जाँडरक्सीले शैक्षिक स्तर खस्क्यो भन्ने कुरा उठ्दा उनीहरू त्यसबारे ‘माइन्युटिङ’ गर्न मान्दैनन्, उल्टै ‘यो संस्कृति हो, यसका विरुद्ध बोल्नु हुँदैन’ भन्छन् । यसबाट आजित बनेका जिल्ला शिक्षा अधिकारी आङदेम्बे भन्छन्, ‘शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी नै जाँडले मातेर विद्यालयमा आउँछन् भन्ने रिपोर्टिङ धेरै आउँछ । यो अवस्था सुधार्न के गर्ने भनेर सोच्न सकिएकै छैन ।’
 
‘समाजकै गति रोकिन्छ’
आम्दानीको अर्को उपाय नभएको भनेर बाबुआमाले स–साना छोराछोरीलाई जाँडरक्सीको उत्पादन र व्यापारमा अभ्यस्त बनाउँदाको परिणाम केसम्म हुनसक्छ ? महिला तथा बालबालिका कार्यालय, भोजपुरकी अधिकृत पुष्पलता उप्रेती भन्छिन्, ‘बालबालिका सानो उमेरमै गलत बाटो रोज्छन्, झगडालु बन्छन् र बाल मस्तिष्कमै नराम्रो असर पर्ने विकृतिहरू आउँछन् ।’ 
‘यस्तो वातावरणमा बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन्, कम उमेरमै विवाह गर्छन्, शिक्षा र अरू सीप नहुँदा जाँडरक्सीको व्यापार सुरु गर्छन्,’ महिला विकास अधिकृत उप्रेती भन्छिन्, ‘उनीहरू आफूले जे भोगे, उनका सन्ततिले पनि त्यही भोग्छन् । पुस्तौं–पुस्तासम्म यो चक्र घुमिरहन्छ ।’
भोजपुरका गाउँ घुम्ने जो–कोहीलाई लाग्छ– सन्तानको भविष्यलाई लिएर चिन्ता गर्नसक्ने अवस्था भइदिएको भए सम्भवत: यी अभिभावकले आफ्नै छोराछोरीलाई यस्तो काममा लगाउँदैनथे । यसको अर्थ गाउँघरमा सन्तानको भविष्य बर्बाद भइरहेको छ भन्ने चेतनाकै अभाव छ । किनभने यो पुस्ता अशिक्षित छ । अर्कोतर्फ जाँडरक्सी व्यापार र आम्दानी गर्न सजिलो बाटो भएको छ । खेतीपातीले गुजारा चल्दैन, अरू पेसा गर्न सीप र शिक्षा छैन । नयाँ काम गर्न लगानी हुँदैन । 
मानवशास्त्री सुरेश ढकालका विचारमा, राई समुदायको दृष्टिबाट हेर्दा पनि जाँडरक्सी संस्कृति नभई परम्परा हो र परम्परा छाड्न पनि सकिन्छ । तर जुन परिवार त्यसमा आश्रित छन्, तिनका लागि यो सांस्कृतिक पुँजीजस्तो हुनगयो । हिजो उपभोगका लागिमात्र जाँडरक्सी बनाइन्थ्यो, अब यो बजारसँग पनि जोडियो र ‘कमोडिटी’ हुनपुग्यो । 
‘वास्तवमा यो धेरै पैसा कमाउन गरिएको पेसा होइन, गुजारा र भरथेगका लागि गरिएको काममात्र हो,’ ढकाल भन्छन्, ‘यसले बालबालिकाको शिक्षासँगै समग्र भविष्यमै असर पार्छ ।’ उनी थप्छन्, ‘यसले निर्वाध रूपमा लेखपढ गर्न पाउने बालबालिकाको अधिकारमै बाधा पुर्‍याएको छ । त्यस्ता बालबालिका आजको प्रतिस्पर्धात्मक दुनियाँमा निकै पछाडि छुट्छन्, जसले समाजकै गति रोक्न सक्छ ।’
समाजसेवी ईश्वरमान राईका भनाइमा, धर्म–संस्कृति मान्ने क्रममा केही हदसम्म जाँडरक्सीको प्रयोग स्वाभाविक भए पनि अहिले यसले विकृतिको रूप लिइसकेको छ । यसले सिंगो समुदायको सामाजिक, आर्थिक र शैक्षिक विकासलाई पछाडि धकेलिरहेको छ । ‘जाँडरक्सी नियन्त्रण नगरी नहुने बेला भइसक्यो,’ राई भन्छन्, ‘तर सानो समूहको आवाजले मात्रै नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ । यसलाई नियन्त्रण गर्नै हुन्न भन्ने स्वर अझै ठूलो छ ।’ 
(बालिकाहरूको नाम परिवर्तन गरिएको छ ।)
खोज पत्रकारिता केन्द्र
प्रकाशित : मंसिर २३, २०७४ ०८:१५

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal