कोसेली - साहित्यका दुई दीर्घसेवी

व्यक्ति
गणेश राई
काठमाडौं — नेपाली साहित्यिक प्रकाशनमा लामो विरासत बोकेका पत्रिकामध्ये पर्छन्— ‘रचना’ र ‘अभिव्यक्ति’ । यिनका सम्पादकहरू हुन्— क्रमश: रोचक घिमिरे र नगेन्द्रराज शर्मा । दुवै जनाको अलग पहिचान छ तर विशेषता एउटै— साहित्यिक पत्रकारितामा दीर्घ साधना र सेवा ।

दुवैको जन्मथलो रामेछापको मन्थली हो भने वंशजको नाताले नगेन्द्र काका र रोचक भतिजा । यी दुई स्रष्टा निरन्तर नयाँ स्रष्टा जन्माउने र साधना गर्ने थलो निर्माणमा निरन्तर जुटिरहे । साहित्यिक पत्रिका सम्पादन, प्रकाशन, वितरण गरेर नेपाली साहित्यको चुली निर्माणमा निरन्तर निरन्तर लागिपरे । लागिपरेकै छन् । संयोग भनौं, यो वर्षको खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले यी दुई साधकलाई संयुक्त रूपमा ‘पद्मश्री साधना सम्मान–२०७३’ प्रदान गरेको छ । 

२०१८ सालमा प्रकाशन आरम्भ भएको ‘रचना’ हाल २०७४ मंसिरसम्म १५१ अंक प्रकाशित भएको छ । त्यसैगरी २०२७ सालमा प्रकाशन आरम्भ भएको ‘अभिव्यक्ति’ २०७४ मंसिरसम्म १९२ अंक प्रकाशित भएको छ । समाजशास्त्रीय विश्लेषणमा २५ वर्ष एक पुस्ता मानिन्छ । यस हिसाबले ५७ वर्षे ‘रचना’ र
४८ वर्षे ‘अभिव्यक्ति’ ले दुई पुस्ताको नेतृत्व गरिसकेका छन् । 

इतिहास खोतल्दा १९४३ सालमा बनारसबाट छापिएको ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका नै नेपाली भाषा, साहित्य र पत्रिकारिताका निम्ति पहिलो पत्रिका हो भन्ने तथ्य फेला पर्छ । उक्त पत्रिकाको सम्पादन, प्रकाशन युवाकवि मोतीराम भट्टले गरेका थिए । त्यसअघि नेपाल र भारतमा कुनै पनि नेपाली भाषाका पत्रपत्रिका प्रकाशनमा आएको थिएन । यो प्रकाशन इतिहास तन्किँदै आज १ सय ३१ वर्ष पुगेको छ । क्रमश: तन्किँदै जानेछ ।
साहित्यिक पत्रिकाको मुख्य उद्देश्य स्थापितदेखि भर्खरै लेख्न सिकेका स्रष्टाहरूको कविता (मुक्तक, हाइकु, गीत, गजल, ताङ्का आदि), कथा, नाटक, उपन्यास, चिन्तनपरक विचार, व्यंग्य, चुट्किला, निबन्ध, प्रबन्ध, नियात्राजस्ता विधागत सामग्री संकलन गरेर छपाउनु हो । लोकसंस्कृति, परम्परा, लोकमान्यता, उखान, टुक्का आदि संकलन र प्रकाशन गर्नु हो । स्वदेश या विदेशका अन्य भाषामा छापिएका उत्कृष्ट साहित्यलाई माध्यम भाषामा अनुवाद गरेर छाप्नु हो । सामान्य लेखपढ गर्न जान्नेदेखि शिक्षामा उच्चतम सिंढी चढेका स्रष्टा व्यक्तिहरूको रचना, अध्ययन तथा अनुसन्धानबाट संकलित सामग्रीहरूको प्रकाशन गर्नु हो । यी यस्ता सामग्री पूर्व–पश्चिम, उत्तर–दक्षिण देशका सबै भेगमा बसोबास गर्ने सबैखाले स्रष्टाको सामयिक रचना एउटै पत्रिकामा सचित्र प्रकाशन हुनु नै साहित्यिक पत्रिकाको विशेषता हो ।
२०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भएयता दैनिक अखबारहरूको व्यावसायिक प्रकाशन बढेसँगै साहित्यिक पत्रिकाहरू ओझेलमा पर्दै गएका छन् । मूलधारका अखबारले साहित्यिक सामग्री पनि प्राथमिकता दिएका छन् । एफएम, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालजस्ता आमसञ्चारका माध्यमहरूले समेत साहित्यिक सामग्रीलाई ठाउँ दिएका छन् । त्यसैले पत्रपत्रिकामा रचना छपाउने र पत्रिका किनेर पढ्ने चलन घटेको छ । अहिले साहित्यिक पत्रकारिता सेवाकै भावनाले मात्र प्रकाशित छन् । यही चुनौतीमाझ ‘रचना’ र ‘अभिव्यक्ति’ जस्ता साहित्यिक पत्रिकाको निरन्तरता मननीय छ ।
रोचक अर्थात् ‘रचना’

साहित्यिक वृत्तका धेरैलाई लाग्छ— ‘रोचक दाइ’ र ‘रचना’ पर्याय हुन् । धेरैलाई उनले आफ्नो पत्रिकामा लेख, रचना छापेर साहित्य बजारमा चिनाएका छन् । साहित्यिक गोरेटोमा लाग्न उकेरा दिएका छन् ।
मीठो बोली र शालीन व्यवहारका धनी रोचक घिमिरेको औपचारिक नाम घनानाथ शर्मा घिमिरे हो । बाल्यकालमा उनलाई आत्माराम र ‘आत्मा’ भनेर बोलाउने गरिन्थ्यो । उनले पिता सोमप्रसाद घिमिरे ‘व्यास’ को प्रेरणाबाट साहित्यिक बन्ने अवसर पाएका हुन् । आमा मोहनकुमारीले ‘पिंजराको सुगा’ कविता लय हालेर सुनाउँथिन् । कविताको एउटा पंक्ति ‘भन्दछ तेस्रो आत्माराम † बढो जी राखो नाम †’ आमाले ‘आत्माराम तँलाई नै भनेको हो, लौ पढ् र नाम राख् †’ भनेकी थिइन् उनलाई । ‘यसरी बाल्यकालदेखि नै भाषा र साहित्यको स्पर्श मैले पाएँ,’ तेह्र वर्षको छँदा आमाको काख गुमाएका आत्माराम त्यसपछि कान्छी आमा शारदादेवीको वात्सल्यमा हुर्किए । आमाको वात्सल्य गुमाए पनि त्यो प्रेरणाले आत्मारामलाई कुतुकत्याइरहेको थियो ।
१९९८ भदौ ३ गते रामेछापको मन्थली गहिराथोकमा जन्मिएका हुन् उनी । पिता सोमनाथ घिमिरेले राणा प्रधानमन्त्री भीमशमशेरकी बुहारी समुद्रकुमारीको टंगाल दरबारमा पुराणवाचकको काम पाए । त्यसपछि २००३ सालमा घिमिरे परिवार राजधानीको टंगालमै बसोबास गर्न आयो । पिताको सान्निध्य कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतसँग थियो । रोचक जसै पढ्दै र बढ्दै गए संगत पनि उस्तै पाए । संस्कृत साहित्यमा मध्यमा हासिल गरे । ‘केटौले उमेरदेखि नै देशविदेशका राजनीतिक, सामाजि, साहित्यिक गतिविधि जान्ने उत्सुकता हुन्थ्यो,’ उनी भन्छन्, ‘विद्यालय पढ्दाताका पुरु रिसाल, भैरव अर्याल, रमेश विकल साथी हुन पुगे ।’
तिनै साथीको संगतले एकताका उनले आफ्नो साहित्यिक नाम ‘जीएन रोचक’ राखेका थिए । लेखनयात्राको मेसो २०१४ सालमा जुटेको थियो । उनी हरेक दिन ‘कल्पना’ दैनिक पत्रिकाको प्रेसमा पुगेर पत्रिका लिने गर्थे । एक दिन पत्रिकाका सम्पादक/प्रकाशक तारिणीप्रसाद कोइरालाले बोलाएर ‘ए बाबु तपाईं सधैं पत्रिका पढ्नुहुन्छ मात्र कि लेख्नु पनि हुन्छ ?’ भनेर सोधेछन् । ‘मैले म पाठक मात्रै हो, लेख्न रुचि छैन भनें । उहाँले तपाईंजस्तो मान्छेले लेख्नु पनि पर्छ । म विषय दिन्छु, लेख्नू भन्नुभयो,’ त्यतिखेर २०१५ सालको आमचुनावको चर्चा हुँदै गरेको उल्लेख गर्दै रोचक भन्छन्, ‘उहाँले ‘के तोकिएको मितिमा आमचुनाव होला ?’ भनेर विषय दिनुभयो । मैले ‘निर्धारित समयमा चुनाव हुँदैन’ शीर्षक समसामयिक लेख लेखें । त्यो लेख जीएन रोचक नामबाट पत्रिकामा छापियो । यो नै मेरो पहिलो लेख थियो ।’ त्यसपछि त्यही नामबाट उनले ‘हालखबर’ दैनिकमा समेत समसामयिक लेखहरू छपाए ।
साहित्यिक पत्रिका सम्पादन, प्रकाशन गर्ने रहरले यसतर्फ पाइला चालेका थिए रोचकले । बीसवर्षे उमेरमा २०१८ सालमा ‘रचना’ पत्रिका प्रकाशन आरम्भ गरे । पत्रिकामा छपाउन सिर्जना माग्न जाँदा भाषाशास्त्री महानन्द सापकोटाले जीएन रोचकको सट्टा रोचक घिमिरे नाम राख्न भनेर सुझाए । अन्तत: त्यही नाम सरकारी कागजातदेखि सबैतिर स्थापित भएको छ ।
‘रचना’ सुरुमा चारमहिने थियो । अहिले दुईमहिने छ । प्रधान सम्पादक/प्रकाशक ७६ वर्षीय रोचक घिमिरे छन् भने सहयोगीमा उनकै पुत्रद्वय सुधीर र प्रतीक छन् । प्रकाशन सामग्रीहरू इमेलबाटै प्राप्त हुन्छन् । पत्रिका हजार प्रति छापिन्छ । सित्तै बाँडेर सकिन्छ । ‘रचना’ मा छापिएका सामग्रीहरू ‘खासखास डटकम’ अनलाइनमै पढ्न पाइन्छ । ‘साहित्यिक समाजमा मेरो परिचयको माध्यम ‘रचना’ नै हो । मैले जति पनि साथी सहयोगी र हितैषीहरू कमाएँ यसैबाट कमाएँ ।’ यसमा उनकी श्रीमती सुष्मिता घिमिरेको साथ निरन्तर छ ।
यो पत्रिकाको आयुबारे भने उनी निश्चिन्त छैनन्, ‘भविष्यमा रचना प्रकाशन जारी नै राख्न सक्ने बलियो आधार पनि केही छैन । तर कुनै बेला रचना बन्द गर्नुपर्‍यो भने मेरानिम्ति त्यो दु:खद स्थिति हुनेछ । अहिले त म रचनाबाहेकको आफ्नो बँचाइको कल्पना गर्न सक्तिनँ ।’
रोचकको लेखन विधा कविता, निबन्ध, समीक्षा प्रमुख हुन् । उनका ‘सम्झनामा फक्रिएका थुँगाहरू’ (निबन्धसंग्रह, २०५५), ‘अनुहार र अनुभूति’ (व्यक्तिचित्र, २०७४) प्रकाशित कृति हुन् । केही सम्पादित कृति पनि छन् । केही कृति प्रकाशोन्मुख छन् भने छरिएर रहेका अनगिन्ती लेख, रचना छन् । ‘म सर्जकभन्दा बढी साहित्यिक पत्रकार हो,’ उनी प्रस्ट्याउँछन् ।
रोचकले दर्जनौं पुरस्कार र सम्मान पाएका छन् । साहित्यिक पत्रकारकै हैसियतले प्रेस काउन्सिल नेपालको सदस्य पनि बनेका छन् । धेरै संघसंस्थामा आबद्ध उनी २०६२/६३ को राजनीतिक परिवर्तनपछि गठित नेपाल साहित्यिक पत्रकार संघको अध्यक्ष भए । साहित्यिक पत्रिका एवम् साहित्यिक पत्रकारहरूको हक, हित र संरक्षणका निम्ति स्थापना गरिएको संघको उद्देश्यप्राप्तिमा केही पहल गरेको उनी सुनाउँछन् । रोचकले २०२६ देखि ०३६ सालसम्म घरमै ‘व्यास प्रेस’ सञ्चालन गरेका थिए । जुन मुलुकमा भित्रिएको पहिलो हाइडल वर्ग प्रेस थियो । पछि बेचे ।
पैत्रिक सम्पत्तिले गर्दा खासै दु:ख बेहोर्नु नपरेको रोचकको कथन छ । पिताले सात दाजुभाइलाई राजधानीमै एक–एक रोपनी जग्गा अंश दिएका थिए । तराईतिर खेती पनि छ । त्यसैले रोचक एकोहोरो साहित्यिक पत्रिकाको माध्यमबाट भाषा सेवामा जुटिरहेको सुनाउँछन् । उनी नेपाली भाषा साहित्यलाई विश्व साहित्य स्तरमा दाँजिने स्थिति रहेको उल्लेख गर्छन् । ‘कुम जोरेर अघि बढेको छ नेपाली साहित्य । तर राम्रो अनुवाद गर्न र विश्वस्तरका प्रकाशकले छाप्न सक्नुपर्छ,’ भन्छन्, ‘नयाँ पुस्ताको क्रियाशीलता ज्यादै अगाडि छ । भाषिक भाँडभैलोले ल्याउने विकृति हटाउनुपर्छ । वर्णविन्यास एकरूपता हुनुपर्छ ।’

‘अभिव्यक्ति’ र नगेन्द्रराज

‘यति लामो अवधिसम्म साहित्यिक पत्रकारितामा यसरी अल्झिरहँुला भन्ने मैले सोचेको पनि थिइनँ,’ दीर्घकालीन योजना नबनाएको उल्लेख गर्दै ८० वर्षे नगेन्द्रराज शर्मा भन्छन्, ‘जिन्दगीलाई कुन बाटो कसरी अघि बढाउने हो भन्ने विषयमा म कहिल्यै गम्भीर भइनँ । मेरो जिन्दगी आपैंm अगाडि बढ्दै गयो आफ्नो बाटो आपैंm बनाउँदै । अथवा, भनौं नदीजस्तै बग्दै गयो आफैं आफ्नो बाटो पहिल्याउँदै । म साहित्यिक पत्रकारको रूपमा परिचित हुँदै गएँ । मेरो सिर्जनशील व्यक्तित्व पनि सम्पादक व्यक्तित्वको छायामा पर्‍यो । भनौं— जति–जति मेरो सम्पादक व्यक्तित्व मौलाउँदै गयो— उति–उति लेखक व्यक्तित्व ओइलाउँदै गयो । यसरी म लेखक कम र सम्पादक बेसी हँुदै गएँ ।’
नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा स्थापित अर्को नाम हो— नगेन्द्रराज शर्मा । बाल्यकालदेखि बोलाइने नाम भने मुकुन्द हो उनको । उनलाई भारतको बनारस हिन्दु विश्वविद्यालयका सहपाठीलगायतले मुकुन्द भनेरै बोलाउँछन् । ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाको सम्पादकका रूपमा प्रसिद्धि कमाएका छन् उनले । यसबाटै सबथोक मिलेको उनको अनुभूति छ । ‘सुयोग नै भन्नुपर्छ, यस वर्ष ‘अभिव्यक्ति’ का सम्पादकलाई तीनवटा प्रतिष्ठित पुरस्कार/सम्मान प्राप्त भए,’ २०७४ सालको उपलब्धिबारे शर्मा भन्छन्, ‘मदन–शीला प्रतिष्ठानबाट १ लाख एक हजारको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’, नेपाल सरकारबाट १ लाख रुपैयाँको ‘महाकवि देवकोटा पुरस्कार’ र खेमलाल–हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानबाट (संयुक्त रूपमा) २ लाखको ‘पद्मश्री सम्मान’ पाएँ । साहित्यिक पत्रकारितामा लागेर प्राप्त गरेको योभन्दा अरू धेरै के नै हुन सक्छ ।’
शर्माको जन्म १९९४ चैतमा रामेछापको मन्थलीमा भएको हो । पिता इन्द्रप्रसाद घिमिरे र आमा पद्मा घिमिरेका तेह्र सन्तानमध्ये उनी माइला पुत्र हुन् भने साहित्यकार जगदीश घिमिरे साइँला ।
विसं २००० मा राजधानी काठमाडौंका मैतीदेवी घर बनाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाका असल छिमेकी बन्न पुगेका थिए उनका बुबा । त्यसो त नगेन्द्रराजले बाल्यावस्थामै कवि काकाद्वय हृदयराज शर्मा र भरतराज मन्थलीयको साथ पाएका थिए । काशी हिन्दु विश्वविद्यालय (बनारस हिन्दु विश्वविद्यालय/बीएचयू) बाट संस्कृत शिक्षा अध्ययन गरेका उनले प्रसिद्ध साहित्यकार सूर्यविक्रम ज्ञवालीपुत्री कमला शर्मासित विवाह गरेका छन् । दम्पतीका दुई छोरा, एक बुहारी, एक नाति र एक नातिनी छन् ।
आफूले लेखेका केही कथा–कविताहरू प्रकाशित भएपछि साहित्यिक पत्रकारितामा रहर जागेको उनी सुनाउँछन् । रोचक घिमिरे, भैरव अर्याल र जगदीश घिमिरेलगायत निकटस्थहरूले ‘अभिव्यक्ति’ पत्रिका प्रकाशनमा सहयोग गरेको सुनाउँछन् । ‘यिनै साथी भाइको प्रेरणा र सहयोग पाएर मैले अभिव्यक्तिको प्रकाशन सुरु गरेको हुँ,’ ०२७ साल फागुन ७ गते अभिव्यक्तिको पहिलो अंक छापिएको सुनाउँदै उनी भन्छन्, ‘एउटा रहर, लहड, भाषा साहित्यप्रतिको अगाध अनुराग, आशक्ति र सेवाभावबाट प्रेरित भएर सुरु गरेको हो जुन अहिलेसम्म निरन्तर प्रकाशित छ ।’ यही पत्रिकाले उनको व्यक्तिगत पहिचान बनेप्रति शर्मा गर्वित छन् । भन्छन्, ‘म साहित्यको एउटा सामान्य विद्यार्थी मात्र हूँ । त्यस्तै, पत्रकारिताको हकमा पनि म एउटा सामान्य साहित्यिक पत्रकार हुँ । अभिव्यक्ति पनि एउटा सामान्य साहित्यिक पत्रिका हो ।’
शर्माका दुई उपन्यास ‘महापुरुष’ (२०२८) र ‘दिवास्वप्न’ (२०२९) तथा दुई कथासंग्रह ‘पीपलको बोटमुनि’ (२०३९) र ‘एकान्तका आफन्तहरू’ (२०५५) प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा अनेकौं कथा, कविता, लेख, निबन्ध तथा अन्तर्वार्ताहरू प्रकाशित छन् उनका । विभिन्न संघसंस्थामा संलग्न रहेर विभिन्न राष्ट्रिय साहित्यिक गोष्ठीहरूमा सहभागी भए । नेपाल साहित्यिक पत्रकार संघका वर्तमान अध्यक्ष उनले दर्जनौं पुरस्कार र सम्मान पाएका छन् । शर्माले त्रिभुवन विश्वविद्यालयको करिब दुई दशक जागिर खाए ।
उनको बुझाइमा साहित्यिक पत्रिका चलाउनु निकै कष्टकर काम हो । साहित्यिक पत्रकारिताको इतिहास जति तन्किए पनि यसले व्यावसायिक रूप लिन नसकेको शर्माको ठम्याइ छ । उनका अनुसार यसको बिक्री र वितरणको व्यवस्था छैन । सरकारले साहित्यिक पत्रिकालाई प्राथमिकतामा नदिएको पनि उनको गुनासो छ । हुलाक दर्तासमेत नदिएको उनी सुनाउँछन् । ‘अभिव्यक्ति’ का प्रधान सम्पादक नगेन्द्रराज शर्मा र सम्पादकद्वय प्रणयराज र ओपलराज घिमिरे छन्, जो शर्माका छोरा हुन् । पत्रिकालाई निरन्तर बनाउने ध्येयले निर्मित ‘अभिव्यक्ति अक्षय कोष’ मा अहिले १३ लाख रुपैयाँ संकलन भइसकेको छ । प्रेस काउन्सिलको वर्गीकरणमा परेकाले केही सहज भएको छ ।
अहिले उनी धार्मिकस्थल पशुपतिनाथ र गुहेश्वरी मन्दिर उत्तर गौरीघाटतर्फ अभिव्यक्ति मार्गमा स्थायी बसोबास गर्छन् । तर, मन्दिर धाउँदैनन् । ‘आज, मेरोजस्तो उमेर समूहका, अवकाशप्राप्त जीवन बिताइरहेका कतिपय साथीभाइ आफन्तहरू भजन–कीर्तन गाइरहेका छन् । कोही ठाडा–तेर्सा टीका लगाएर मठ–मठ धाइरहेका छन् । कोही धर्मका व्यापारीका चङ्गुलमा फसेर रमाइरहेका छन् । कोही जुवातासमा व्यस्त छन् त कोही मापसेमा मस्त छन्,’ उनी भन्छन्, ‘तर त्यस्ता कुनै पनि विषय, व्यसन वा व्याधिमा मेरो चित्त रमाएन । लागेन । मैले अक्षरसँगै खेल्न र अक्षरसँगै अल्मलिन रुचाएँ । अलिअलि लेखपढ गर्छु । बाँकी समय अभिव्यक्तिकै स्याहार सुसारमा अर्थात् सम्पादन, प्रकाशन र व्यवस्थापनमै बिताउँछु । मेरो सम्पूर्ण कर्म, धर्म, मनोरञ्जन, पूजा आराधना वा अम्मल— जे भने पनि अभिव्यक्ति नै हो । यसैमा रमाइरहेको छु ।’
ganeshrai@kmg.com.np
प्रकाशित : पुस १, २०७४ ०९:३५https://www.kantipurdaily.com/koseli/2017/12/16/20171216093731.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal