तिहार विशेष - जनजातिको तिहार

गणेश राई, काठमाडौं

आश्विन ३१, २०७४-बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालको मुख्य चाड पर्वमध्येकै हो तिहार । मुलुकमा १२५ जातजाति छन्, तीमध्ये सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजाति छन् । एउटै नामबाट चिनिने चाडपर्वलाई हरेक जात, जाति र समुदायले आ–आफ्नै मूल्य मान्यता र तरिकाले मनाउने गर्छन् । मगर, गुरुङ, तामाङ, राई र लिम्बू समुदायलगायत जनजातिको तिहार कस्तो हुन्छ त ? 



चामल र बेसारको टीका

गुरुङ (तमु) समुदायका बूढापाकाले ‘देउसी रे’ भन्नासाथ देउसेको हात–हातका लौरो आँगनको ढुंगामा एकैसाथ ‘ड्याङ्ग’ ठटाउँदा गाउँघर संगीतमय सुनिने नै भयो । एउटा घरमा भट्टाइरहेको देउसीको रागरौनक पल्लो गाउँसम्मै गुन्जिने नै भयो । पुरुष बूढापाकाले भट्टाइरहँदा महिला बूढीपाकी आमा टोलीले पछाडिबाट ‘गीत छोप्ने’ नै भए । ठिटाठिटीहरू उसैगरी पछाडि–पछाडि साथ दिने नै भए । घरबेटीले थोरै रकम, काँचो धान, चामलजस्ता अन्नपात, नुन, रक्सी, रोटी इत्यादि दान निकालेपछि देउसेले आशिष दिन्छन् । सबैको शुभ रहोस् भन्छन् । त्यसरी दिइएको दानलाई खान्तेपिन्तेका चीजहरू सबैले बाँडेर ग्रहण गर्छन् । अन्नपातलाई बटुलेर राख्छन् । तिहारभरि एकदेखि अर्को घरमा त्यस्तै रंगरवास हुनेगर्छ । 

द्वितीया तिथिका दिन दिदी–बहिनीले दाजु–भाइलाई टीका र फूलमाला लगाइदिने गर्छन् । ‘तमु समुदायमा बाउमाइतीलाई छोरीचेलीले टीका लगाइदिने चलन छ,’ संस्कृतिविद् जगमान गुरुङ भन्छन्, ‘उतिबेला सप्तरंगीको चलन थिएन, मात्रै चामलको सेतो टीका अनि त्यसमाथि बेसार घोलेर दुईरंगे टीका लगाइदिन्थे चेलीहरूले । डालोभरिको रोटी थुन्सेमा राखेर केराको पातले छोप्ने, त्यसमाथि पाटे काम्लोले ढाकेर कोसेली बोक्थे । अर्को थुन्सेमा पुङ र गिठादारको ठेकीमा रक्सी लिएर जाने चलन थियो ।’ लाहुर गएका माइती दाजुभाइहरू अनुपस्थित रहे पनि दिदीबहिनीले प्रतीकात्मक ढंगले टीका लगाइदिने चलन छ । दैलो सँघारसँग जोडिएको भित्तामा गोबरको डल्लो बनाएर टीका लगाइदिन्छन् । 

तिहारमा संकलन भएको अन्नपातलाई पुस १५ मा ‘स्योंकई’ (सहभोज) अथवा ‘खुवा खाने’ चलन थियो । पत्रकार लाला गुरुङका अनुसार धार्मिक र राजनीतिक रूपमा फरकखाले चेतना आएकाले कतिपय चलन बिस्तारै पाखा लाग्दो छ । ‘तमुहरू बौद्धमार्गी भएकाले पुस १५ मै ल्होछार मनाउने परम्परालाई बढी प्राथमिकता दिइएको छ,’ यद्यपि तिहार परम्परालाई सहभावकै रूपमा रहेको उनको कथन छ । 


बलि राजा मगर थिए

तिहारमा देउसी भट्टाउँदा भनिन्छ, ‘त्यसै हामी आएका होइनौं, बलि राजाले पठाको... ।’ ‘बलि राजा’ भनेकै मगर वंशका थिए । मगरभित्र पनि राना मगर थिए । त्यसैले तिहार चाड मगरको हो भन्ने छ । इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार बलि राजाको पाल्पाको बल्ड्याङगढीदेखि भारतको गोरखपुरसम्म उनको राज्य फैलिएको थियो । धेरैपछि मात्र हिन्दू दर्शनशास्त्रमा सम्मिलन हुन पुगेको हो । 

खासमा बलि राजा धर्मात्मा थिए । दूरदर्शी थिए । आध्यात्म ज्ञानप्राप्त थिए । उनको न्यायप्रति उनका जनता ज्यादै खुसी थिए । एक दिन बलि राजाले निकट समयमा आफ्नो मृत्यु हुने सन्देश जनतालाई दिए । त्यो सुनेर जनता दु:खी बने । शोकमा डुबे । उनीहरूले राजालाई कसरी बचाउने लिन आउने ‘काल’ लाई पन्छाउने उपाय रचे । बलि राजाले औंसीको रात, फलाना तिथि, घडी पलामा काल आउने बताए । जनताले त्यस रातको समयमा सबैतिर झिलिमिली दीपावली गरे । नभन्दै त्यो रातको घडी पलामा काल आइपुगेछन् । 

उनीहरूले कालसामु आफ्नो प्यारो राजाको गुणबारेमा बखान गरे । नलैजान अनेक बिन्तीभाउ गरे । रोइकराई गरे । अन्तत: कालको मन फर्केछ । बलि राजालाई तत्काल नलैजाने भनेर काल आफ्नो बाटो लागेछ । त्यसरी बलि राजालाई मृत्युबाट बचाएपछि तीन दिन तीन रात खुसियाली मनाउन दिइएको हो भन्ने जनविश्वास रहेको छ । बाजागाजा बजाएर नाचगान गर्ने, दीपावली गर्ने, फूलमाला लगाउने, मीठोमसिनो खाने गर्ने गरिन्छ ।

चलचित्रकर्मी सञ्जोग लाफामगरका अनुसार मगर समुदायमा तिहार आएसँगै सोरठी गीत गाएर नाच्ने गरिन्छ । बलि राजाले आयु पाएजस्तै छोरीचेली माइतीलाई टीका र फूलमाला लगाइदिएरे दीर्घायुको कामना गर्ने गर्छन् । ‘तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्ने चलन पछि मात्र आएको हो,’ लाफा भन्छन् । यसैगरी देउसी खेल्दा ‘फाइलो’ भनिन्थ्यो । पछिबाट ‘भैलो’ भन्ने चलन आयो । मगर समुदायमा यद्यपि तिहार चाडबारे परम्परागत मान्यता जीवितै छ । 


तामाङ पुर्खा ‘खेप्पासुङ’ को पूजा 

तामाङ समुदायमा तिहार खासगरी ‘गोठपूजा’ को विकसित रूप हो । ‘खेप्पासुङ’ (बूढाको पूजा) अर्थात् पुर्खाको पनि पुर्खाको पूजा गर्ने चाडका रूपमा लिने गरिन्छ । पशु संरक्षणका निम्ति प्रकृतिसित गरिने आराधना हो । मानवशास्त्री डा. मुक्तासिंह लामाका अनुसार ताम्सालिङमा यो अवशेष अझै बाँकी छ । ‘घरपालुवा वस्तुभाउको प्रत्येक किलामा अक्षता, धूप चढाउने र सानो कुखुराको बलि दिने परम्परा छ,’ पृथ्वीनारायण शाहअघि नै खस संस्कृतिले तामाङ समुदाय प्रभावित भएको उल्लेख गर्दै उनी भन्छन्, ‘देउसी खसबाट आयो भने लक्ष्मी भनेर गाई पुज्ने संस्कृति बाहुनबाट आएको देखिन्छ । दिदीबहिनीले दाजुभाइलाई मखमली फूलमाला लगाइदिने खस संस्कृति हो ।’

तामाङ समुदायमा बलि राजा पुकारेर देउसी खेल्ने चलन छ । बलि राजा खस थिए वा मगर नै थिए ? भन्ने पक्ष शोधकै विषय हो । अरूले नै दान दिंदा राम्रो हुन्छ भनेर देउसिरे भट्टाउने गरिन्छ । केही दशकयता दसै, तिहारजस्ता चाडप्रति जनजातिमाझ वितृष्णा जगाउने काम भएको छ । पत्रकार तथा संस्कृतिकर्मी प्रतिक तामाङ देश नेपालको भौगोलिक अवस्थितिअनुसारको उपयुक्त मौसममा मनाइने चाडबाड भएकाले बिटुलोपन ल्याइनु असान्दर्भिक रहेको उल्लेख गर्छन् । ‘यो शारदीय सुन्दर ऋतुमा हाम्रा पुर्खाहरू चुपो लागेर बसेनन्,’ शासकीय सत्ताले आफूअनुकूलको सांस्कृतिक व्याख्या विश्लेषण गर्दै अन्य समुदायमाथि लाद्न अन्यथा नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘राज्यले उपयुक्त मौसममा राष्ट्रिय संस्कृति चाडपर्व बनाए पनि हाम्रा पुर्खाले आफ्नोपन जोगाए । समाजअनुसार मिश्रित संस्कृति सामाजिक सद्भावको चाडपर्व बनेको छ । लादेकै भए पनि त्यसले राष्ट्रिय रूप लिइसक्यो । चुपचाप झ्यालबाट छिरेका पश्चिमा संस्कृतिको हालिमुहाली हुनुभन्दा हामीले नेपालीपनलाई जोगाउनुचाहिं बुद्धिमान हुन्छ ।’



लिम्बूको बलिहाङ तङ्नाम

किराती लिम्बू समुदायमा तिहारलाई ‘बलिहाङ तङ्नाम’ भनेर भव्यताका साथ देउसी खेलिन्छ । च्याब्रुङलगायतका बाजा बजाएर ‘लारिङ्गेन’ भट्टाउँदै आँगनै ढाकेर नाचिन्छ । घरघरै डुलेर देश दुनियाँलाई देखाइन्छ । यसरी बलिहाङको प्रसिद्धि गाउँदै गाउँघर चारचौरास घुम्दै हाँसिमजाक, रमाइलो सन्देश लिएर आउनेहरूलाई बाटो खर्च भनेर जाँड, रक्सी र पैसा आदि दान दिएर पठाइन्छ । 

बलिहाङ नेपालको पश्चिम क्षेत्रका एक जना नामी, ध्यानी र प्रतापी राजा थिए । प्रजाभक्त थिए । उनको सुशासन, सुव्यवस्थाले प्रजाहरूले उनलाई देवताजस्तै मान्थे । ‘तर, बलिहाङका सुङखिवा तुखिवा (प्रतिद्वन्दी) ले आँखीडाही लगाए,’ पल्लोकिरात लिम्बुवानमा प्रचलित लोकमान्यता उद्धृत गर्दै साहित्य तथा संस्कृतिकर्मी यासेली योङहाङ भन्छन्, ‘उनको मृत्युको कामना गरे । बलिहाङले आउने महिना कालो दिन र कालो रातमा सुटुक्क आफ्नो प्राण हर्ने काल आइपुग्छ भनेर भविष्यवाणी गरे । प्रजाहरूले इष्टदेव तागेरा निङवाफुमा (सृष्टिकर्ता) सित बलिहाङको आयुको वरदान मागे । चार हात भएका देवता प्रशन्न भएर त्यो कालो दिन र रातलाई हटाउन दीपावली गर्न सके काल देखा पर्न नसक्ने उपाय दिए । सबै जना जाग्राम बस्न सबैतिर घरघरै डुले । घरआँगन सबैतिर दीपावली गरे । कालो कागलाई खाना गुवाए । नभन्दै बलिहाङलाई कालले लैजान सकेन । त्यही खुसियालीमा बलिहाङ तङनाम मनाउन थालिएको हो ।’ 


ताप्लेजुङका डिल्लीबहादुर लिङदेनकृत लिम्बू भाषा र सिरिजंगा लिपिमा लिखित पुस्तकका आधारमा उनले बलिहाङ तङनामको चर्चा गरेको योङहाङले जनाए । त्यही परम्पराको निरन्तरता हो— बलिहाङ तङनाम । ‘चन्द्रमा झुल्किएजस्तो फेरि झुल्किने— लारिङ्गे अर्थात् तेअँसिरो (देउसिरे) । ‘घाम झुल्किएजस्तो फेरि झुल्किने— नामलिङ्गे अर्थात् तेअँसिरो (देउसिरे) ।’ भन्ने गरिन्छ । तर लिम्बू समुदायमा दुतिया अर्थात् भाइटीकाको चलन नरहेको संस्कृतिकर्मी योङहाङको कथन छ । लिम्बू समुदायमा चेलीले माइती, माइतीले चेलीलाई फूल दिन हुँदैन । अहिले भने भाइटीका लगाउने प्रचलन रहेको छ । 



मुन्दुममै भाइपूजा

ओल्लोकिरात र माझकिरातवासी किरात राई करिब २८ भाषा बोल्ने समुदाय हो । बहुभाषा एक जातिका रूपमा चिनिने यो समुदायमा धुमधामसाथ तिहार मनाइन्छ । मुन्धुम (मुन्दुम) मिथकअनुसार पहिलो पुर्खाका दुई छोरी तायामा र खियामा थिए । दुई चेलीका एक भाइ हेच्छाकुप्पा थिए । उनीहरू टुहुराटुहुरी थिए । बालकैमा उनीहरूबीच विछोड भयो । प्रकृति र सृष्टिको रीति थाम्दै गर्दा अन्तत: मिलन पनि भयो । धेरै समयपछि भएको मिलनले उमंग छायो ।

संस्कृतिविद् तीर्थराज मुकारुङ राईका अनुसार खुसियालीमा भाइले भदौमा नयाँ अन्न पाकेपछि दुई चेलीलाई बोलाएर रीतपूर्वक परिकार खुवाए, खाए । चेलीले तिहारमा भाइलाई कात्तिकमा बोलाएर टीका लगाएर कपडामा फूल सिउरेर माला लगाइदिए । मीठोमसिनो खुवाए । ‘एउटा भाइ मात्र भएकाले दुई दिदीले खातिर राखेर मजुर र डाँफेको प्वाँखको रंगजस्तै रंगीन टीका लगाइदिए,’ संस्कृतिविद् राई भन्छन् । ‘तित्’ भनेको कपडा तथा ‘हार’ भन्नाले माला हो र यी दुई शब्द मिलेर तिहार भएको उनको दाबी छ । 

किराती समुदायमा काग, कुकुर, गाई, गोरु पूजाको चलन भने हिन्दु धर्मको विस्तारसँगै भएको भन्ने छ । त्यसपछि रामायण, महाभारतका कथा हालेर देउसी रम्बाइन भट्टाउने चलन छ । ‘भाइ पुज्ने चलन हाम्रो हो, अरू पछि मिसिएको हो,’ उनी भन्छन् ।




प्रकाशित: आश्विन ३१, २०७४



http://kantipur.ekantipur.com/printedition/news/2017-10-17/20171017112440.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal