प्रवास - बेलायतको जीवनशैली सिक्दै भूपू लाहुरे परिवार

गणेश राई, ग्रेटर रस्मोर (बेलायत)
आश्विन ५, २०७४-फ्रान्बरोस्थित कम्युनिटी सेन्टरको हलमा पुग्दा एक हूल बुढयौली उमेरका महिला रातो सारी, चोलो लगाएर नेपाली दोहोरी गीतमा छमछमी नाचिरहेका थिए । त्यसको चाँजोपाँजो मिलाउन पुरुषहरू जुटेका थिए ।

७० वर्षीया गंगामाया थापामगर आफ्ना समवयीलाई नाच्न हौस्याइरहेकी थिइन् । तनहुँकी उनी ब्रिटिस लाहुरे पत्नी हुन् । आवासीय भिसा पाएर उनी यता आएको सात वर्ष पुगिसकेको छ । पाँच वर्षअघि पतिको निधनपछि उनी नियास्रिने गरेकी छन् । कारण– उनलाई अंग्रेजी बोल्न मुस्किल पर्छ । साथमा छोरा, बुहारी, नातिनातिना भए पनि सहरबजार डुल्न साथ दिने कोही छैनन् । ‘श्रीमान् नहुँदा एक्लो महसुस हुन्छ,’ उनले भनिन्, ‘सबै जना काममा जान्छन्, एक्लै घरमा बस्नुपर्छ । साथी हुन्न । त्यसैले कम्युनिटी हलमा आएर नाचगान गरेर मन भुलाउने गरेकी छु ।’

गंगामायाजस्तै बेलायतमा आवासीय भिसा पाएका ३६ हजार जनाभन्दा बढी भूतपूर्व ब्रिटिस लाहुरे परिवारका बूढापाका यसैगरी समय काट्छन् । अवकाशप्राप्त सैनिकलाई ‘भेटेरान्स’ भनेर जानिन्छ । यी भेटेरान्स साताको मंगलबार यसैगरी भेला भएर गीत, संगीतमा रमाउँछन् । बिहीबार अंग्रेजी भाषाको प्रशिक्षण लिन्छन् । साथै, बेलायतको नियम कानुनबारेमा जानकारी दिइन्छ ।

ग्रेटर रस्मोर नेपाली कम्युनिटीका उपाध्यक्ष तथा गोर्खा भेटेरान प्रोजेक्टका संयोजक रामधन राईका अनुसार भेटेरान्सले पाउने सेवा, सुविधा, पालना गर्नुपर्ने नियम कानुन, आवश्यक कागजातबारे जानकारी दिइन्छ । ‘प्रोजेक्टमार्फत नेपाली समुदायको काम गर्दैआएका छौं,’ उनले भने, ‘स्वास्थ्य राम्रो गर्न नाचगान, योगा, अंग्रेजी बोल्न, कानुनबारे जानकारी दिने गरिएको छ । सातामा एकपटक भ्रमण तथा अवलोकनमा लैजाने गरेका छौं ।’

महिला संयोजक धनकुमारी गुरुङले दिदीबहिनीलाई भेला हुन हौसला दिने गरेको बताइन् । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म भेला भएर रहने गरेको सुनाइन् । ‘कोही दिदीबहिनी आएनन् भने के कस्तो समस्या परेको छ कि भनेर सोधपुछ गर्दछौं,’ पोखराकी ६५ वर्षीया धनकुमारीले भनिन् । उनी पति बद्रीमान गुरुङका साथ फ्रान्बरोमा रहँदै आएकी छिन् । घुँडा दुख्ने कारणले पतिलाई हिँडडुलमा समस्या आएको समेत जनाइन् ।

पूर्वगोर्खा सैनिक तथा खोटाङ जिविसका पूर्वसभापति रत्न राई दम्पती दशकयता बेलायतमा छन् । साप्ताहिक तालिकामा संलग्न हुन्छन् । ‘बेलायत आएपछि तीन चिज नभएको मान्छे भएँ,’ सुरुवाती दिनको सम्झना गर्दै ७९ वर्षीय राईले कान्तिपुरसित भने, ‘पहिलो खुट्टा नभएको, दोस्रो बोली नभएको र तेस्रो गोजी नभएको जस्तो । हिँडेर कहाँ जानु, सबै एउटै देखिन्छ । म अंग्रेजी जान्दिनँ, मेरो बोलीको काम छैन । गोजीमा नेपाली रुपैयाँ मात्र छ, यहाँ पाउन्ड मात्र चल्छ । रुपैयाँको काम छैन ।’ अहिले विस्तारै बानी परेको बताए ।

त्यसैगरी, ओर्सायरको ननिटनस्थित कम्युनिटी हलमा अर्को हुल पाका महिला पुरुष योगा गरिरहेका भेटिए । योगामा १ सय ९३ सहभागी छन् । सन् २००९ देखि ननिटन गोर्खा भेटेरान्स एसोसिएसनले उनीहरूको हेरविचार गर्दै आएको छ । ‘बूढापाका गोराहरू अधिकांश समय घरभित्रै बिताउँछन्,’ एसोसिएसनका अध्यक्ष तथा अवकाशप्राप्त रेजिमेन्ट सार्जन्ट मेजर ओम गुरुङले भने, ‘तर नेपालीचाहिँ घरबाहिर निस्किएर लस्करै हिँड्ने । जथाभावी चौरमा बसेर जुम्रा मार्ने, बगैंचाको फूल टिप्ने, दिसापिसाब गर्नेजस्ता क्रियाकलाप भएपछि हेपिन पुगे । अहिले सुधार गर्दै छौं ।’ करिब दस वर्षअघि काठमाडौंमा योगा सिकेकी अम्बिका गुरुङ यतिखेर योगाको सहायक प्रशिक्षक छिन् । ‘योगबिना पैसाको दबाई हो,’ ‘योगाले पुन: जन्म पाएको बताउँदै भनिन्, ‘योगाले मन फूर्तिलो, चंगा हुन्छ । डिप्रेसन हुँदैन प्रकृति, पशुपक्षीको माया लाग्छ । नकारात्मक सोच सबै जान्छ ।’

भूपू आर्मी कृष्णप्रसाद राईले प्रमुख योग प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । उनले पाँच वर्षदेखि प्रशिक्षण दिँदै आएका छन् । ‘योगले मधुमेह, रक्तचाप, मानसिक रोग, निद्रा नलाग्ने रोग हट्छ,’ चिकित्सा सम्बन्धमा पनि जानकार उनी भन्छन्, ‘एलोपेथिकभन्दा योगाले बढी फाइदा छ । अधिकांशलाई यसले फाइदा पुगेको छ ।’ योगामा बेलायतीसमेत भाग लिन्छन् । नेपाली र अंग्रेजीमा समेत प्राणायाम, आशन, ध्यान गराउने गरेको उनी सुनाउँछन् । बुढयौली उमेरका भेटेरान्सहरूको सेवामा गोर्खा सैनिक परिवारका युवालाई स्वयंसेवकका रूपमा खटाउने गरिएको छ । उनीहरूमध्ये लेखपढ गर्न जान्ने र नजान्नेलाई वर्गीकरण गर्ने गरिन्छ । जान्दै नजान्नेलाई नाम लेख्न, अक्षर चिन्न लगाइन्छ । ठेगाना, फोन नम्बर, बिरामी हुँदा आफ्नोबारेमा बताउन सक्ने गरिएको छ । पानीको बिल बुझाउने, टेलिभिजन, घरको समस्या समाधान गर्ने गरिएको छ । चिठीपत्र लेखिदिने, पठाइदिने गर्ने गरिएको छ । सडक नियमबारे जानकारी दिने, प्रत्यक्ष व्यवहार गर्न सिकाउने गरिएको छ ।

बेलायत सरकारले अवकाशप्राप्त ब्रिटिस गोर्खा भेटेरान्सलाई सेवाका आधारमा पेन्सन दिँदै आएको छ । आवासीय सुविधा पाएकालाई ब्रिटिस नागरिकसरह वृद्धभत्ता (पेन्सन क्रेडिट बेनेफिट) उपलब्ध गराउँदै आएको छ । उच्च दर्जाकाले पेन्सनको आधारमा कम वा बेसी क्रेडिट बेनेफिट पाउँछन् । पति वा पत्नी एक जना मात्र भएमा मासिक ७ सय ७७ पाउन्ड स्टर्लिङ पाउँछन् । दम्पती नै भएमा ९ सय ७३ पाउन्ड पाउँछन् । न्यून आय भएको प्रमाणित भएमा थप घर भाडा पाउने गरेका छन् ।

त्यहाँ रहेका बूढापाकामध्ये आधाभन्दा बढीका कोही आफन्त छैनन् । आफन्त भएकाहरू काममा व्यस्त हुनुपर्ने बाध्यता छ । दैनिक जीवनस्तर सहज बनाउन साप्ताहिक रूपमा सामूहिक क्रियाकलापमा सहभागी गराउने गरिएको छ ।

भूतपूर्व गोर्खा सैनिक संघ (गेसो), ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस), गोर्खा सत्याग्रह, नेसो, यूबीजीएन लगायत संघसंस्थाले ब्रिटिस गोर्खा सैनिकको अधिकारको मुद्दा उठाउँदै आएका छन् । बेलायत सरकारले सन् २००४ मा आवासीय भिसा अनुमति खोलेपनि ब्रिटिस गोर्खा परिवार त्यहाँ जानेक्रम सुरु भएको हो । सन् २००९ देखि आवासीय भिसा लिएर पुग्नेको चाप बढेको हो ।

ग्रेटर रस्मोर नेपाली कम्युनिटीका अध्यक्ष जीवनाथ बेलबासेले नेपाली–नेपाली बीच र अन्य समुदायसित समन्वय गर्ने काम गर्दै आएको जनाए । करिब १५ वर्षदेखि यो संस्था सुचारु छ । ‘सुरुवाती समयमा नेपाली बुढयौली उमेरमा भेटेरान्सहरू स्थानीयबाट हेपिन्थे भने अहिले त्यो परिस्थिति घटेको छ,’ अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिक परिवारलाई आवासीय भिसा पाएर स्वदेशमै पूर्वशिक्षा दिएर बेलायत आउने व्यवस्था नहुँदा बढी समस्या आएको उल्लेख गर्दै उनले भने ।



प्रकाशित: आश्विन ५, २०७४


http://kantipur.ekantipur.com/news/2017-09-21/20170921073917.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal