साहित्य - ‘रेमिटल्यान्ड’ को चिरफार


कान्तिपुर संवाददाता , धरान


श्रावण १७, २०७४- पति वा पत्नीलाई घरमा छाडेर वैदेशिक रोजगारमा जानेहरूको पारिवारिक प्रेममा आएको मानसिक र शारीरिक विचलनको कथा–व्यथा बोकेको उपन्यास ‘रेमिटल्यान्ड’ को धरानमा चर्चा भइरहँदा उपन्यासकार श्याम सिंगक निकै उत्साहित देखिए।


साहित्यकार मनु मञ्जिलले रेमिट्यान्सले बाँचेको देशको समाज छरपष्ट भइरहेको उदाहरण पेस गर्दै भने, ‘उपन्यासमार्फत सिंगकले राज्यमाथि नै प्रश्नचिह्न लगाएका छन्। पढ्दा त्रिकोणात्मक प्रेमकथाजस्तो लाग्छ। तर रेमिट्यान्सका लागि वैदेशिक रोजगारमा दौडने युवायुवती र उनीहरूको परिवारसँग जोडिएको कथा हो यो।’ उनले शारीरिक/मानसिक यौन प्यासको कारण समाज कस्तो भएको छ र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उपन्यासले तेस्र्याएको जिकिर गरे। मनु मञ्जिलले ‘रेमिटल्यान्ड’ उपन्यासकारको अटोबायोग्राफी र आम पाठकको बायोग्राफी बनेको बताए।


कवि सीमा आभासले उपन्यासले आजको पुस्ता बाँचिरहेको नेपाली समाजको जरा पूरै हल्लाइदिएको टिप्पणी गरिन्। भनिन्, ‘आज नेपालबाट ५० लाखभन्दा बढी युवा–युवतीहरू वैदेशिक रोजगारमा छन्। लेखकले सामाजिक मनोविज्ञानलाई राम्रोसँग उतार्न सफल भएका छन्।’ वैदेशिक रोजगारमा जानेहरूका आश्रित परिवार देशमा छन्। जैविक आवश्यकता पूरा गर्ने पति वा पत्नी नै लामो समय टाढिएपछि परस्त्रीगमन र परपुरुषगमन हुने सामाजिक समस्यालाई लेखकले मिहिन रूपमा उतारेको सीमाले बताइन्।


डा. भीम खतिवडाले ‘रेमिटल्यान्ड’ मा विदेश गएकाहरूको मन कसरी भत्किँदो रहेछ र कसरी जोडिँदो रहेछ भन्ने कुरा उल्लेख गरेको जनाउँदै उपन्यासमा मेचीदेखि कालीसम्मका पीडा उल्लेख भएका बताए। उनले भने, ‘उपन्यासले सामाजिक यथार्थलाई नजिकबाट हेर्न बाध्य बनाएको छ। यो उनको खुबी हो।’


विमल स्मृति पुस्तकालयको आयोजनामा भएको अन्तरक्रियामा उपन्यासकार सिंगकले आफूलाई धेरै फुर्काइएकोमा लाज लागेको बताए। उनी आफैंले उपन्यासमा बौद्धिक पक्ष कमजोर भएको स्विकार्दै भने, ‘कथालाई रमाइलो होस् भन्ने ध्येयले कला पक्षमा बढी ध्यान दिएको छु। अब अर्को उपन्यास तयार गर्न मलाई चुनौती थपिएको छ।’

प्रकाशित: श्रावण १७, २०७४
http://kantipur.ekantipur.com/news/2017-08-01/20170801085204.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal