किराती चुलाको बहस

कान्तिपुर संवाददाता , काठमाडौं




भाद्र ६, २०७४- किरात राई जातिभित्र तीनचुला सर्वाधिक महत्व रहेको संस्कृतिविद्ले बताएका छन् । ‘किरात राई जातिको माङखिम (पितृथलो) नै तीन चुला हो,’अनुसन्धाता तथा संस्कृतिकर्मी चन्द्रकुमार हतुवालीले भने, ‘मुन्दुमको स्रोत केन्द्रका रुपमा चुला रहेको छ । हामी सबै किरात राई जातिको साझा विशेषता नै तीनचुला पुज्नु हो ।’
किरात राईको घरमा दैनिक खाना पकाउने र अर्को पितृपूजा गर्ने दुई किसिमका चुला रहेको हुन्छ । चुलालाई पवित्र पितृस्थानका रुपमा रहने तीनवटा ढुंगाको चुलालाई घरपरिवार र दाजुभाइबाहेक अन्यले जथाभावी छुन नहुने बताइएको छ । ‘यी तीन चुलालाई चासुलुङ, छेन्मीलुङ र सायालुङ भनिन्छ, जसमा घरमुलीबाहेक मर्चापानी चढाउन मिल्दैन,’अनुसन्धाता हतुवालीले भने, ‘अन्न चढाउने, पैसा चढाउने र समाजमा परिवारको प्रतिष्ठा उठाउने चुलाको मर्म हो ।’

राजधानीको कोटेश्वरस्थित किरात राई यायोक्खामा आयोजित ‘किरात राईहरूको चुला मुन्धुम’विषयक बहसमा उक्त विचार व्यक्त गरेका हुन् । बुङवाखा मासिक पत्रिकाको १५०औं अंक ‘चुला विशेषाङ्क’का रुपमा प्रकाशित छ ।

त्यसै गरी मुन्दुमका शोधार्थी भोगिराज चाम्लिङले किराती लिम्बू जातिले मूलखाबोलाई प्रमुख ठान्ने र राईले तीन चुलालाई महत्व दिने गरेको बताए । ‘सामाजिक हिसाबले चुला अदृश्य संस्था हो,’चुलाको नाम अर्थपूर्ण हुने उल्लेख गर्दै उनले भने, ‘यसको दार्शनिक पक्षमा ज्यादै अर्थपूर्ण छ ।’मानव सभ्यताको करिब दस हजार वर्षदेखि आगोको महत्व उजागर भएको र सात हजार वर्षदेखि सामाजिक चुला प्रयोगमा रहेको उनले दाबी गरे ।

अर्का संस्कृतिविद् जय शिवाहाङले चुला आगो बाल्ने र खाना पकाउने थलोमात्र नभई विज्ञानसँग सम्बन्धित रहेको बताए । ‘चुलाले किराती जातिको भौतिक ज्ञान र वनस्पति विज्ञानसँग सम्बन्ध राख्छ,’उनले भने, ‘पितृथलोमा धामीझाँक्रीहले देहसम्वाद गर्ने गर्छन् । हाम्रो पुर्खाहरुसित सम्बन्ध चुलामै छ ।’त्यसैगरी भाषाशास्त्री नोवलकिशोर राईले मुन्दुमी भाषामा प्रयोग हुने चुलाको धेरै नामहरुको अध्ययन अनुसन्धान हुनुपर्ने बताए ।
 
त्यसै गरी किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, पत्रकार सञ्जय सन्तोषी राई, अर्जुन जम्नेली राई, तेज राई, राजबल राई, भक्तबहादुर राई, विदुर राई, नरेन्द्र राई, मुन्धुम शोधार्थी कमला राई, राजेन्द्र बान्तावालगायतले चुलाका बारेमा बोलेका थिए ।


तस्बिर : गणेश राई/कान्तिपुर

http://kantipur.ekantipur.com/news/2017-08-22/20170822203245.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal