समाचार - ३९ फिट अग्लो किराती स्तम्भ बन्दै

गणेश राई, उँबु (ओखलढुंगा)

असार २७, २०७४- संघीय प्रदेश नं.१ मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३९ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण सुरु भएको छ । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित सम्पदा निर्माण थालिएको यो स्थल सदरमुकाम ओखलढुंगादेखि २१ किलोमिटर दक्षिणमा रहेको छ । मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले संयुक्त रुपमा यसै साता उक्त स्तम्भको शिलान्यास गरेका हुन् । 
वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा उक्त सांस्कृतिक स्तम्भ निर्माण सुरु भएको हो प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख प्राज्ञ धनबहादुर याक्खाको नेतृत्व सात सदस्यीय टोलीले ‘स्वालेवा मूर्तिकला कार्यशाला–२०७४’ आयोजनासहित निर्माण थालेको हो । टोलीमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जित थापामगर, गणेशबाबुलगायत मूर्तिकार संलग्न छन् ।
स्वालेवा स्तम्भ (मूर्ति) निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा यो स्तम्भ निर्माण गर्न लागिएको हो । ‘सबैतिर जातीय पहिचानको कुरो उठेको बेला हामीले आफ्नो सांस्कृतिक पहिचान जोगाउन यो पहल गरेका हौं,’ उनले भने, ‘यसनिम्ति देश, विदेशका नाता आफन्त, सरकारको विभिन्न निकाय गुहारेका छौं ।’ सिमेन्ट, बालुवा, रड, गिटी प्रयोग गरी निर्माण थालिएको स्वालेवा स्तम्भ वरिपरि पर्खाल घेराबार हुनेछ । सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी, संग्रहालय निर्माण हुने राईले जनाएका छन् ।
 
स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उनका चार दाजुभाइ परिवारले १ रोपनी १४ आना जग्गा उपलब्ध गराएको छ । संस्थाको अनुरोधमा देश–विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुटाइएको हो । त्यसैगरी सांसद रामहरि खतिवडाले स्तम्भ निर्माणमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका छन् । जग्गादाता सदस्य तथा स्तम्भ निर्माण अभियन्ता मुम्चे राई (बिद्रोही साइला)का अनुसार हालसम्म पाँचलाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । ‘सुरुमा स्तम्भ निर्माणको मात्र ३० लाख बजेट स्टिमेट गरिएको हो,’ अभियन्ता राईले भने, ‘अहिले निर्माण थालिसकेपछि सम्पूर्ण व्यवस्थापनका निम्ति दोब्बरभन्दा बढी रकम लाग्ने भएको छ । हामीले स्तम्भ निर्माण गर्ने आँटिसकेको हुनाले यो रकम जसरी पनि जुटाउने छौं ।’
नवनिर्वाचित गाउँपालिका अध्यक्ष राईले निर्वाचित भएलगत्तै पहिलो पटक आफ्नो समुदायको पहिचान स्तम्भ शिलान्यास गरेको बताए । ‘म स्वयं वाम्बुले राई परिवारको सदस्य भएको र गाउँपालिका अध्यक्षमा निर्वाचित भएर पहिलो पटक पहिचानका निम्ति स्वालेवा स्तम्भ शिलान्यास गर्न पाउँदा खुशी छु,’ अध्यक्ष राईले आफ्नो कार्ययोजनाबारे भने, ‘देशको मुख्य सम्पत्ती भनेको जनता, उनीहरुको भाषा, धर्म, लोकसंस्कृति हो । त्यसैले गर्दा म वाम्बुले राई समाजको मात्र नभनौं अन्य जातजाति, भाषाभाषीहरुको पनि भाषा, लोकसंस्कृति संरक्षण, संवद्र्धनमा मेरो जोड रहनेछ ।’
त्यसैगरी नवनिर्वाचित उपाध्यक्ष सबिता राईले गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर स्वालेवा स्तम्भ निर्माणलाई प्राथमिकतामा राखेको बताइन् । ‘अब यस्तै खाले सामूहिक सांस्कृतिक पहिचानको प्रतीक निर्माण क्रमलाई अन्य जनमानसमा पुर्‍याउने जमर्को गर्नेछु,’ उनले भनिन् । 
प्राज्ञ याक्खाले ललितकला प्रज्ञा प्रतिष्ठानको मूल उद्देश्य सरकारको विभिन्न निकायले कुनै पनि ठाउँ र समुदायको विकास गरे सँगसँगै त्यहाँको कलाको विकास गर्नु रहेको बताए । ‘त्यही क्रममा पहाडी क्षेत्रको वाम्बुले राई समुदायमा आइपुगेका छौं,’ उनले भने, ‘प्रतिष्ठानले संघीय प्रदेशका विभिन्न ठाउँ र समुदायको ऐतिहासिक, सांस्कृतिक पक्षलाई केलाएर कला निर्माणमा सहयोग गर्दैजाने छ ।’
स्वालेवा स्तम्भ निर्माण उपभोक्ता समितिका संयोजक सौराज राईका अनुसार निर्माण कार्यमा सबै पक्षको सहयोगले तीव्रगतिमा अघि बढेको बताए । ‘आफ्नो कलासंस्कृति, पहिचान झल्किने स्तम्भ बनाउन खटिरहेका छौं,’ उनले भने, ‘यो परिकल्पनालाई साकार गर्न सबै जनहरुलाई अनुरोध गर्दछु ।’ समुद्री सतहदेखि करिब १७ सय मिटर उचाईमा यो स्तम्भ निर्माण स्थल रहेको छ । यहाँबाट उत्तरतर्फ सोलु, पूर्वतर्फ खोटाङ र भोजपुर, दक्षिणतर्फ उदयपुर तथा पश्चिमतर्फ सिन्धुली जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । 
मुन्धुम र स्वालेवा
‘स्वालेवा’ भनेको लहरामा फल्ने पेट फुकेको घाँटी सानो भई लामो हुने तुम्बा/लौका जातको एक प्रकारको फल अर्थात् चिन्डो हो । यो फल छिप्पिएपछि किराती जातिले पानी भरेर बोक्ने तथा मुन्धुम विधिअनुसार पित्रिकार्य, विवाह कार्य, कुलदेउताको पूजा जस्ता सांस्कृतिक कर्महरु गर्दा मुन्धुमीले चिन्डोमा जाँड, जिर्मा आदि राखेर मुन्धुम फलाक्ने गर्दछन् ।

दस्तावेज ओखलढुंगाका थुम
नेपालको संविधान (२०७२)मा ओखलढुंगा जिल्लालाई संघीय प्रदेश–१ मा रहेको छ । नेपाल सरकार सूचना विभागद्वारा २०३१ सालमा प्रकाशित ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरूमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरू बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । यी थुमहरूको ऐतिहासिकताबारे खोजी भएको छैन । 

बेलायती अध्यता ब्राइन हुटन हड्सनको कृतिमा सन् १८५७ मा प्रकाशित ‘कम्पेरेटिभ भकवलरी अफ दि डाइलेक्टस् अफ किराती ल्यांग्वेज’ पुस्तकमा ‘चौरास्या’ राईको शब्दावली संलग्न राखेका छन् । वाम्बुले राईहरू आफूलाई किरात राजा वाङ्बाहाङका सन्तान ठान्दछन् । शासनसत्ताको अन्तिम बागडोरका रूपमा चौरासेघरलाई लिन सकिन्छ । अमाल बागवर्ण राईले श्री ३ हरूलाई रिझाएर भूमि कर उठाउने र वार्षिक चार सय चौरासी रूपैयाँ बुझाउँथे । यही चौरास क्षेत्रमा बसोबास गर्ने किरातीलाई ‘चौरासे राई’ भनेर चिनाए । वाम्द्याल अन्य पहाडी गाउँभैंm उत्तर–दक्षिण भिरालो छ । गाउँको शिरमा १९ सय २२ मिटर उचाईमा लिब्जु पहाड (धार्मिक स्थल) रहेको छ । मिथकअनुसार वाम्बुले राईहरूको उत्पत्ति स्थल वामद्याल (उँबु) र लिब्जु जंगलसित जोडिएको छ । उक्त लिब्जु देवस्थलमुनि वामद्याल (उँबुगाउँ)को ड्याबल्वामटारमा ‘वाम्बुले पहिचान स्वालेवा स्तम्भ (मूर्ति) पार्क’ निर्माण  थालिएको छ । 
प्रकाशित: असार २७, २०७४
http://kantipur.ekantipur.com/news/2017-07-11/20170711210926.html



Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal