हेलो शुक्रबार - युनिभर्सिटी भोलेन्टियर्स

गणेश राई, काठमाडौं
चैत्र १९, २०७२- काठमाडौं युनिभर्सिटी (केयू) ले विभिन्न इभेन्ट्समा विद्यार्थी स्वयंसेवक खटाउँछ, युनिभर्सिटी भोलेन्टियर्सका रूपमा । सय देशका करिब साढे चारसय जना प्रतिनिधिका निम्ति एक सातासम्म भोलेन्टियर गरे, केयू ब्याचलर्स स्टुडेन्ट्सले । राजधानीको मुटु कमलादीस्थित नेपाल एकेडेमी परिसरमा उनीहरू जुटे । सन्दर्भ थियो, ‘२०१६ वल्र्ड उड डे’ अर्थात् विश्व काठ दिवस ।

राष्ट्रसंघको ६७ औं सभाले हरेक २१ मार्चलाई विश्व काष्ठ दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । यो दिवस सन् २०१३ मा पहिलोपटक तान्जानिया, २०१४ मा चीन र २०१५ मा टर्कीमा मनाइएको थियो । काठलाई पर्यावरणमैत्री नवीकरणीय जैविक पदार्थका रूपमा सचेतना फैलाउने उद्देश्यले आयोजित यो दिवसको चौथो संस्करण पहिलोचोटि नेपालमा आयोजना भएको हो ।
‘नेचर एन्ड कल्चर’ थिममा काठबाट बन्ने विविध सामग्री उत्पादन र काठबाट बन्ने वाद्यसंगीतका इन्स्ट्रुमेन्टको प्रयोग आकर्षण रह्यो । सातै दिन केयूका भोलेन्टियर्स मनैदेखि जमेर खटिए । उड डेमा भोलेन्टियर बन्न गुगल फर्म भर्ने सयभन्दा बढी थिए, ५३ जना छानिए । ती ब्याचलर्स लेभल बीई सिभिल, मेकानिकल, इन्भाइरोनमेन्ट, इलेक्ट्रिकल, कम्प्युटर, बिटेक, बायोटेक, कम्प्युटर साइन्स, बीएस्सी, इन्भाइरोनमेन्टल साइन्सका परे ।
तीमध्ये आधा जति छात्रा थिए । विषयगत र रुचिअनुसारका भोलेल्टियर बनेका उनीहरूको अनुभव यस्तो छ । संयोग पनि कस्तो पर्‍यो भने ठिक्क एक साता छुट्टी हुँदै थियो । सेमेस्टर सकिएपछिको इन्टरभल । कोही केयूको धुलिखेल होस्टलमै थिए त कति भने राजधानीस्थित घर फर्केका । केयूले भोलेन्टियर्सलाई गाडीको व्यवस्था गरिदियो ।
बिहान आठ बजेभित्र कमलादीस्थित एकेडेमी हल छिरेपछि साँझ करिब सात बजेसम्म खटिनुपर्ने ड्युटी रह्यो । फोर्थ इयरका प्रियंका चौहान र शुभन्जन विष्ट प्रमुख संयोजक तोकिए । जसको अन्डरमा सबैले कोअपरेटिभ रोल निभाए । सबैजनाले सेतो टिसर्ट र फोटो टाँसिएको भोलेन्टियर कार्ड भिरेर जुटे । यो टिमले इन्टरनेसनल इभेन्टमा भोलेन्टियर गरेको पहिलो घटना हो । जुन सफलतापूर्वक सम्पन्न भएको छ ।
उनीहरूकै शब्दमा केयूले विश्वविद्यालय हातामा राजनीतिक संगठनलाई प्रवेश नगराउनुको प्रतिफल हो यो । विद्यार्थीको विभिन्न क्लब छन् । तिनै क्लबमार्फत विद्यार्थीले सामूहिक कार्यमा स्वयंसेवक भएर नेतृत्व गर्छन् । ‘यो कार्यक्रमका लागि एक साता छुट्टी मनाउन छोडेर खटियौं,’ बायोटेकका आदर्श अधिकारी भन्छन्, ‘विभिन्न देशका फरक संस्कार, भाषाका मानिससँग सँगै बसेर कसरी काम गर्ने भन्ने सिक्यौं ।’
केयूका स्टुडेन्ट्समा सिनियर र जुनियर नभएर समान हैसियतमा व्यवहार गर्ने परम्परा रहेको उनले प्रस्ट्याए । कम्प्युटर साइन्सका रुबेन महर्जनको भागमा प्रोग्राम मेनेजमेन्ट रहेको थियो । ‘कहाँ जनशक्ति पुगेन त्यहाँ तत्काल सहयोग जुटाउनेमा पर्‍यौं,’ हेभी इकुप्मेन्ट र सामान ओसारपसार गरेको उल्लेख गर्दै उनले भने, ‘ठूलो इभेन्टमा सबै एज अ टिम भएर काम गर्‍यौं । यो केयूमा हुने क्लबमार्फत सिकिएको अनुभव हो ।’
इन्भाइरोनमेन्ट इन्जिनियरिङ थर्ड इयरकी दिलाशा जोशीले धेरै देशको अभिवादन, धन्यवादलगायतका शब्द बोल्न सिकेको सुनाइन् । ‘हामीले पनि सबैलाई होली खेलायौं, नाच्न र गाउनमा सहभागी गरायौं,’ रसियन, स्पेनिस, फ्रेन्च, चेक रिपब्लिकन, जापानिज, चाइनिजलगायत प्रतिनिधिसित घनिष्ठ व्यवहार गरेको उल्लेख गर्दै भनिन्, ‘अरबका मुस्लिम प्रतिनिधिबाहेक गालामा अबिर नलाउने कोही रहेनन् ।’
कम्प्युटर साइन्सका निश्चल खड्का फरक देशका काष्ठ कला प्रदर्शन हुनु आफैंमा नयाँ काम ठान्दछन् । ‘काठ उस्तै हो तर कुन काठबाट कस्तो बाजा बनाइन्छ र त्यसको ओरिजिन कुन देशको हो भन्ने थाहा पायौं,’ भन्छन्, ‘इन्स्ट्रुमेन्टको आवाज उस्तै, बजाउने शैली उस्तै तर बनोट फरक पाइयो । म्युजिकमै चासो रहेकाले नयाँ धेरै नै थाहा पाएँ ।’
इन्भाइरोनमेन्ट साइन्सका अनिश अधिकारीले एउटा समूहमा १६ देशका २० जना र १३ भाषाका वक्ताबीच काम गरेको सुनाए । ‘सुरुमा नेपाली दाजुलाई गाह्रो भयो, विस्तारै सहकार्य गर्दै जाँदा सहज भयो,’ उनले भने, ‘ह्युमन नेचरअनुसार टिम वर्क गर्न धेरै डिफिकल्ट हुने रहेछ ।’ तोकिएको समयमा काममा जुट्ने, टिमभित्र रहेर काम गर्ने र समयको ख्याल राख्नुपर्ने ज्ञान पाएको अनिशले सुनाए ।
बिटेकका संगीत नेपाल समारोहमा विद्युतीय प्रकाश र साउन्ड सिस्टममा खटिएका थिए । ‘धेरै देशका कलाकारको मौलिक म्युजिकबारे थाहा पाएँ,’ अलिक लामो कपाल पालेका गायनमा रुचि राख्ने उनले भने, ‘काठबाट गीत, संगीत कसरी गरिन्छ भन्ने जानकारी पाएँ । संगीतकर्मी प्राय: अम्बल हुन्छन् । त्यसैले डिल गर्न गाह्रो भएन ।’ बाजा र संगीतले भूगोल, जनजीवन, इतिहास, पर्यावरण झल्काएको पाएको सुनाए ।
चीनको भूगोल र जनजीवन, इन्डोनेसियामा बढी जंगल, काजकिस्तानको विशेष खालको काठको बाजा, स्विट्जरल्यान्डका पुरानो बाजा विशेष आकर्षण पाएको उनले सुनाए । संगीतको निष्कर्ष छ, ‘विश्व भ्रमण गरेजस्तो स्वाद चाख्न पाइयो ।’ मेकानिकलका विमल खत्री र विपिन थापा उड टर्निङमा खटिएको भेटिए । पढेको विषय व्यवहारमा ल्याउन प्रोजेक्ट वर्क गर्नु महत्त्वपूर्ण पक्ष हो ।
‘सेकेन्ड इयरबाट प्रोजेक्ट सुरु हुन्छ र मेटल टुल्स प्रयोग गरेर सिकिन्छ,’ विमलले भने, ‘कलेजमा सिकेको भए एक साताभित्र बढीमा दुई डिजाइन सिकिन्थ्यो । यहाँ त व्यावसायिक टुल्स प्रयोग गरेर दर्जन जति डिजाइन सिकियो ।’ मोर्डन टुल्समात्र व्यावहारिक हुने सैद्धान्तिक अवधारणा रहेको तर विदेशीले नेपालबाट लोप हुँदै गएको ट्ेरडिसनल टुल्ससमेत लिएर आएको उनले बताए ।
जुन प्रविधि बिजुली र इन्धनको अभावमा शारीरिक बलले चलाउन सकिन्छ । भोलेन्टियर्स संयोजक प्रियंका चौहानले स्वयंसेवक आफैं विभिन्न विषयका व्यावहारिक इन्जिनियर तथा इन्टरप्रेनर भएकाले ‘वल्र्ड उड डे’ को सहभागिता लाभदायी रहेको बताइन् । तर अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गर्नका निम्ति व्यवस्थित फराकिलो ठाउँ तथा भौतिक संरचनासहितको कन्फरेन्स हलको अभाव खड्किएको स्वयंसेवकले अनुभूत गरे । 
प्रकाशित: चैत्र १९, २०७२


http://kantipur.ekantipur.com/printedition/news/2016-04-01/20160401103801.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal