साहित्य/विविध - दुई वर्षपछि लोकवार्ता

कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २४, २०७४- भूकम्पका कारण रोखिएको पाँचौं अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन राजधानीमा शनिबार सम्पन्न भएको छ । दुई वर्षअघि वैशाख १२ कै दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा लोकवार्ता तथा साहित्य समाजले सम्मेलन सुरु गरेको थियो । दोस्रो दिन सम्मलेन चलिरहेकै बेला भूकम्प गएपछि रोकिएको सम्मेलन शनिबार सम्पन्न भएको हो । 

त्यति बेला प्रस्तुत हुन बाँकी रहेका २७ वटा कार्यपत्र शनिबार नेपाल पर्यटन बोर्डमा विशेष लोकवार्ता सम्मेलन गरी प्रस्तुत गरिएको छ । भूकम्पले सम्पदा मात्रै नभई मानिसको मन पनि बिगारेकोले चाँडै कार्यक्रम गर्न नसकिएको प्रा.डा. अभि सुवेदीले बताए । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली लोकवार्ताले अन्तर्राष्ट्रिय क्षेत्रसँग अप्रत्यक्ष रूपमा नेपालको मेलमिलाप र सहअस्तित्व कायम गर्न सहयोग पुग्ने बताए । ‘अहिले नेपालमा देखिएको विखण्डनको भावनालाई लोकवार्ता र लोक संस्कृतिले मेटाउन सक्छ,’ उनले भने, ‘नेपालमा यसको लागि २०६७ मा संस्कृति नीति त बनेको छ, तर न संस्कृति मन्त्रालयसँग विशेषज्ञ छ, न त बजेट नै । खै कार्यान्वयन भएको ?’ 

२०६२/०६३ को जनआन्दोलनपछि नागरिकमा पहिचानको सर्तकता बढदै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताए । १ सय ४० भन्दा बढी भाषाभाषीहरू भएको मुलुकमा सांस्कृतिक ज्ञान भने सीमित रहेको प्रा. तुलसी दिवसले दाबी गरे । प्रा.डा. चूडामणि बन्धुले नेपाली लोकवार्ता विशिष्ट भएको दाबी गर्दै यसको अध्ययन अनुसन्धान गर्ने आफ्नै प्रक्रिया रहेको बताए । कार्यक्रमको पहिलो सेसनमा प्रा.डा. अभि सुवेदीको अध्यक्षतामा सातवटा कार्यपत्र प्रस्तुत भएका थिए । राजकुमार सुवालले ‘आदिवासी धारणा र बौद्धिक सम्पत्ति, अमूर्त सांस्कृतिक सम्पदा’ माथि, सलील सुवेदीले ‘कन्टेम्प्रोररी नेपाली फयुजन संगीतमा नेपाली लोक संगीतको भूमिका’ माथि, भीमनारायण रेग्मीले ‘नेपालमा नाउँ नलीकन गरिने गाली’ बारे, प्रतिशा श्रेष्ठले ‘मच्छिन्द्र नाथको जात्रा’ बारे, ध्रुव कार्कीले कौडा नृत्यसम्बन्धी, दीपककर्मी मानन्धरले बनेपाको ‘चण्डेश्वरी जात्रा’ र श्रीप्रसाद त्यातजूले ‘भक्तपुरको बिस्केट जात्रा’ बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, कार्यक्रममा प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘सरुमा रानी’ लोकगाथाको चित्रण, प्रवीण पुमाले ‘लोक अभिनय’ बारे, डा. धु्रवप्रसाद भट्टराईले ‘पाल्पामा दलितहरूका विवाहमा भनिने पद्यात्मक लोकमन्त्र’ बारे, तुलसी प्रवासले ‘गण्डकी क्षेत्रमा गाइने गल्लैलाउरे लोकगीतको सामाजिक सन्दर्भ’ बारे, डा. कुलराज निरौलाले संगिनी गीतबारे, गणेश वाम्बुले राई र बडाजित बाम्बुले राईले ‘ओखलढुंगा दक्षिणी भेगमा गाइने राम्दले भाकाको एक अध्ययन’, भक्त राईले ‘किरात राई जातिमा प्रचलित मदिरा संस्कृति’ जस्ता कार्यपत्र प्रस्तुत भएका थिए । त्यस्तै, कार्यक्रममा ‘डिस्कोर्स अन फोल्कलोर’, ‘लोकवार्ता विमर्श’, ‘उराँव लोकवार्ता तथा लोक जीवन’ र ‘धिमाल लोकवार्ता तथा लोक जीवन’ कृतिको लोकार्पणसमेत गरिएको थियो ।
http://kantipur.ekantipur.com/news/2017-05-07/20170507090203.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal