साहित्य - दूधकोसी किनारमा वाम्बुले कविता

- गणेश राई, कुम्भराज राई, ओखलढुंगा

पुस ९, २०७१-परदेशमा बसेर घरदेशको सम्झना अनि घरदेशकाले परदेशीको सम्झना हुने नै भयो । त्यो पनि साहित्य कवितामार्फत् । सम्झने काइदा पनि कविले यसरी फुराए ।

केटाः तिम्ले मिसकल गर्दा पन्ध्र तला माथि रंग लाउँदै थिएँ म

केटीः तिम्रो फोन आउँदा बाघेभीर माथि भारी लाउँदै थिएँ म

केटाः झिकुँ भन्दा मोबाइल, रंगको भाँडै झर्‍यो

     यस्तो आपत पर्‍यो, बिदा पर सर्‍यो

केटीः बोकुँ भन्दा भारी, अल्झी गयो सारी

     भारी खोलो पारि, म चाहिं खोलो वारि

चर्चित कवि श्रवण मुकारुङले यी गीतको गेडो वाचन गर्दैगर्दा दर्शकदीर्घातर्फ काखमा नानी च्यापेर बसेका बीस-बाइसका आमाहरू साँच्चै भावविह्वलझैं देखिए । तन्नेरी पुस्ता भने पेट मिचेरै हाँसे । गोष्ठीका आकर्षणको केन्द्रविन्दु मुकारुङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । दर्शकले त्यो गीतमा मात्र चित्त बुझाएनन् । अन्तमा 'बिसे नगर्चीको बयान' वाचन गर्नै पर्‍यो ।

रात छिप्पिदै थियो । दूधकोसी उत्तर-पूर्वबाट दक्षिण हुँदै सुसाइरहेकी थिई । चिसो सिरेटो बढ्दै थियो । मंसिर पूणिर्माको दिन थियो । झमक्कै साँझ पर्दै गर्दा कविहरूको लर्को मैदानमा ओर्लियो । अतिथि कविका बाहेक सबै कविता वाम्बुले राई भाषामा थियो । सन्दर्भ हो, वाम्बुले राई समाज, नेपाल -वाम्रास) संस्थाको १८औं वाषिर्कोत्सवका अवसरमा मंसिर २० गते आयोजना गरिएको '१६औं वाम्बुले राई भाषा यलम्बर स्मृति कविगोष्ठी' । थाक्ले-८ सोक्मटार गाउँको व्याकुल माइला फुटबल मैदानमा वाम्बुले भाषी समुदायको जमघट जमेको थियो ।

बाँसुरी आत्वाब्दो द्याँमे

फिउ आपान्दो द्याँमे

सालाङ आपान्दो द्याँमे

उङ्गु रिबे

-बाँसुरी नबजाउन भन्छु

सुसेली नपार न भन्छु

गीत नगाउन भन्छु

म सोल्टीनी)

तरुनी मनका कविले व्यंग्य मिश्रति यी पंक्ति वाचन गर्दा तन्नेरीहरू हिपहप शैलीमा चिच्याउने नै भए । चिच्याए । अनकन्टार बगरमा साईसाई सुईसुई भयो । कसले कुन पुरस्कार जित्ने भन्ने दाउ छँदैछ । छ दर्जन कविले आफ्नो रचना दर्ता गराए जसमा २४ कविका रचनामात्र प्रतियोगितामा पारिए भने अन्य अप्रतियोगी रहे ।

अन्ततः निणर्ायक मन्डलले आफ्नो निर्णय सुनाए । जसमा बाहुनीडाँडा-७ खोटाङकी कवि संगिता 'अत्यासी' राई प्रथम भइन् । उनको 'वाम्बुले राडु' -वाम्बुले किराती) शीर्षक कविता उत्कृष्ट भयो । दोस्रो स्थानमा उदयपुर कटारी नगरपालिका-६ का अज्ञात ऋषि राईको 'त्वाम वामद्यालल्वास् बाम' -मन वाम्बुले गाउँमा छ) कविता छानियो । तेस्रो स्थानमा लोकेन्द्र राई चुनिए भने मंगलदर्शन राई र कविन राईले सान्त्वना स्थान हासिल गर्न सफल भए । विजयी कविहरूमध्ये प्रथमलाई पहिलो किराँत हाङ यलम्बरको प्रतिमा, पाँचहजार नगद, पुस्तक उपहार र प्रमाणपत्र प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले प्रदान गरे । त्यसैगरी अन्यलाई क्रमशः ३ हजार, २ हजार र एक-एक हजार रुपैयाँ नगद, पुस्तक र प्रमाणपत्र दिइयो ।

वाम्बुले राई समाज र लिब्जु-भुम्जु पत्रिकाको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सह-आयोजना तथा नयाँ नेपाल सरोकारको व्यवस्थापनमा कविता गोष्ठी भएको थियो । २०५५ सालदेखि सुुरु भएको कविता गोष्ठी २०६० सालबाहेक हरेक वर्ष किराती वाम्बुले समुदायमाझ सम्पन्न हुँदै आएको छ । गोष्ठीको सोह्रौं संस्करण सम्पन्न गर्नका वाम्बुले राई समाज कतारले सहयोग आर्थिक सहयोग गरेका समाजका कार्यवाहक अध्यक्ष तथा पत्रकार गजुरधन राईले जनाए ।

कविता गोष्ठीका लागि बेलायत, साउदी, कतार लगायत क्षेत्रमा कार्यरत वाम्बुले मातृभाषाको रचना पठाएका थिए । वाम्बुले राई समाज दुबईका अध्यक्ष तथा कवि बिद्रोही साहिला रचनासहित गोष्ठीमा उपस्थित थिए । कविता वाचनका साथसाथमा समाजका जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएकोले पनि समारोहको माहौल जमेको थियो । त्यसैगरी गोष्ठीमै कवि रामकुमार राई 'आङगुस वाम्बुले' लाई 'लिब्जु-भुम्जु पुरस्कार' प्रदान गरियो । यो पुरस्कार पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राई -वाम्बुले)ले २०५६ सालमा स्थापना गरेका हुन् । यो पुरस्कारबाट दर्जनभन्दा बढी स्रष्टा सम्मानित भइसकेका छन् ।

राष्ट्रगान 'सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली'का सर्जक व्याकुल माइला -प्रदीपकुमार राई) स्वयं वाम्बुले मातृभाषी स्रष्टा हुन् । हरेक वर्ष वाम्बुले कविता गोष्ठीमा माइलाको उपस्थिति रहने गर्छ । यसपटक माइलाले कविता प्रतियोगिता जित्नकै लागि मात्र नभई जिम्मेवारी बोधका लागि रचना गर्नुपर्ने अभिव्यक्ति दिए । 'वाम्बुले राईको भाषा, संस्कृतिको पहिचानका लागि मातृभाषामा लेख्नुपर्छ', निर्देशनात्मक शैलीमा उनले भने, 'समाजको मनोबल बढाउन वाम्बुले भाषामा लेख्नोस् ।'

यस पटक युवा कविहरू दुतेन्द्र चाम्लिङ, सचित राई, दार्जिलिङबाट आएका कवि प्रणय खम्बु तथा कवि मुकारुङले खस-नेपाली भाषामा कविता वाचन गरेका थिए । प्रतिष्ठानअन्तर्गत मातृभाषा साहित्य विभाग प्रमुख मुकारुङले आफ्नो विभागको वाम्बुले कविता गोष्ठी पहिलो कार्यक्रम भएको उल्लेख गर्दै मातृभाषामा राज्यको एकदमै न्यून लगानी रहेको सुनाए । 'सरकारले कुलो बनाएको, बिजुलीको पोल ठड्याएको मात्र विकास देख्छ', उनले भने, 'तर, भाषा, साहित्यलाई विकास नै ठान्दैन ।' उनले वाम्बुले भाषामा कविताबाहेक अन्य विधामा पनि कलम चलाएर 'खाली ठाउँ भर्न' प्रेरित गरे । त्यतिखेर रातको साढे बाह्र बजेको थियो ।

तथ्यांकले वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० देखाएको छ । तर लाखौं वक्ता रहेझैं वाम्बुले भाषी स्रष्टाहरू हरेक वर्ष जुट्दैआएका छन् । अर्को वर्ष २०७२ सालमा हुने १७औं कविता गोष्ठी ओखलढुंगाको उँबु- २ मा आयोजना गरिने कार्यवाहक अध्यक्ष राईले जनाए । डेढ दशक लामो साहित्यिक अभियानले उत्कृष्ट कविता रचना गर्ने क्रम बढेको निणर्ायक मन्डलका संयोजक दिलिपकुमार राईले बताए । यसरी प्रतियोगितामा वाचित कविताहरू 'लिब्जु-भुम्जु' पत्रिकामा छापिने गरेको छ ।

प्रकाशित: पुस ९, २०७१
http://kantipur.ekantipur.com/news/2014-12-24/208140.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal