कोपिला - यसरी हुन्छ चुनाव

गणेश राई
वैशाख २४, २०७४- यतिबेला मुलुक चुनावमय छ । जताततै चुनावकै चर्चा छ । प्रदेश नं ३, ४ र ६ मा चुनावकै लागि भोलिदेखि एक साताका लागि विद्यालय छुट्टी हुँदै छ । छुट्टी हुनुअघि नै राजधानीका केही विद्यालयमा चुनावी अभ्याससमेत गरिएको छ । विद्यार्थीहरूले ‘निर्वाचन के हो र कसरी हुन्छ ?’ भन्ने आफैंले अभ्यासमा गरेका छन् । राजधानीस्थित केएमसी स्कुल, एसएबी पब्लिक स्कुल, नोबेल एकेडेमी, लालीगुराँग वाटिका माविलगायतमा गत साता यस्तै अभ्यास गरियो ।

बानेश्वरस्थित नोबल स्कुलमा शुक्रबार पुग्दा छात्रछात्राहरू पंक्तिबद्ध भए मतदान गरिरहेका थिए । डोरी टाँगेर उनीहरूलाई लाम लगाइएको थियो । भीड नियन्त्रण गर्न स्काउट टोली खटिइहेका थिए । धेरै भीडले गर्दा अकस्मात् डोरी चुँडियो । त्यो भीडमा उभिएका साथीहरू हुर्रिंदै अगाडिको पंक्तिमा पुगे । स्काउट टोलीलाई सम्हाल्नै मुस्किल पर्‍यो । सिठी बजाउँदा पनि कसैले टेरेनन् । त्यसपछि पल्लो कुनामा बसिरहेका ‘निर्वाचन आयुक्त’ कमल सापकोटा उठे र उनले सबैलाई फेरि पंक्तिबद्ध बनाए ।
कक्षा दसको सामाजिक अध्ययन (सोसल स्टडिज) विषयमा चुनावबारे पाठयसामग्री समेटिएको छ । विद्यार्थीले ‘निर्वाचनमा नागरिकको भूमिका’ र ‘सामान्य निर्वाचन प्रक्रिया’ शीर्षकको पाठ पढ्नुपर्छ । निर्वाचन आयोग र त्यसका काम, कर्तव्य, अधिकारबारे बुझ्नुपर्छ । त्यसमा निर्वाचनको प्रकार, संविधानसभा, मध्यावधि निर्वाचन र स्थानीय निर्वाचनबारे चर्चा छ । स्कुलले यो पाठलाई प्रयोगात्मक रूपमै बुझाउन सामाजिक अध्ययन विभागका प्रमुखलाई प्रमुख निर्वाचन आयुक्त र चारजना शिक्षकलाई आयुक्तको जिम्मेवारी दिएको थियो । ‘पाठ पढाउने काम भइरहेकै छ,’ प्रमुख निर्वाचन आयुक्त बनेका शोभारकर भण्डारीले भने, ‘स्थानीय तहको चुनाव हुने बेलामा विद्यार्थीलाई निर्वाचनबारे प्रत्यक्ष प्रयोग नै गरेर देखाउन यस्तो अभ्यास गराएका हौं ।’ चुनावी प्रक्रियामा कक्षा ५ देखि १० सम्मका ५ सय १२ विद्यार्थीलाई सहभागी गराइएको थियो ।
उक्त विद्यालयले ‘स्कुल क्याप्टेन’, ‘भाइस क्याप्टेन’, ‘हाउस क्याप्टेन’ र ‘हाउस भाइस क्याप्टेन’ को चुनाव गराएको थियो । एक साताको पूर्वतयारीमा चुनावका सबै प्रक्रिया पुर्‍याएर विद्यार्थीलाई सहभागी गराइएको शिक्षक सापकोटाले बताए ।
‘चुनावी आचारसंहिता निर्माण गरी मतदाता नामावली प्रकाशन, उम्मेदवार चयन, उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ताको अभ्यास गरियो,’ उनले भने, ‘उम्मेदवारले घरदैलो गरेजस्तै विद्यार्थीलाई प्रत्येक कक्षामा भोट माग्न लगाएका थियौं ।’ सबै उम्मेदवारलाई बिहानीको प्रार्थना (एसेम्बली) मै भाषण गर्न र आफ्ना एजेन्डाहरू भन्न लगाएको उनले बताए । मतदानका निम्ति २४ घण्टा अघिसम्म प्रचारप्रसारको समय सीमा तोकिएको थियो ।
‘घर–घरमै हुल बाँधेर विभिन्न पार्टीका मान्छेहरू भोट माग्न आइरहन्छन्,’ जोरपाटीकी छात्रा प्राज्ञी पोखरेलले भनिन्, ‘खासमा भोट केका लागि रहेछ भन्ने चाहिँ अभ्यास गरेपछि बल्ल थाहा हुँदै छ ।’
कक्षा १० की प्राज्ञी ‘स्कुल क्याप्टेन’ की उम्मेदवार हुन् । उनी यूकेजीदेखि यसै स्कुलमा पढ्दै आएकी छन् । ‘म पहिला पनि स्कुल क्याप्टेन नै थिएँ, त्यसबेला अफिसियल निर्णय भएको थिएन,’ आफ्नो उम्मेदवारीबारे उनले भनिन्, ‘भोटिङ नै हुने भएपछि मैले पनि लड्नै पर्ने ठानें । त्यसैले स्कुलमा साथीहरूलाई आवश्यक पर्ने कुराहरूलाई सरहरूसँग सल्लाह गरेर पूरा गर्ने, झगडा हुन नदिने, बुलिङ रोक्ने, प्रतिभा देखाउन चाहनेलाई प्रतिस्पर्धा गर्न दिनेजस्ता एजेन्डा लिएर उम्मेदवारी दिएकी हुँ ।’
कक्षा १० कै प्रणव जोशी ‘स्कुल क्याप्टेन’ का अर्का उम्मेदवार हुन् । ‘साथीहरूको प्रतिभा उजागर गर्ने, सक्षम नेतृत्व गरेर स्कुलकै नमुना काम गर्ने, हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराउने, सबैका गुुनासो सम्बोधन गर्ने मेरा एजेन्डा हुन्,’ कक्षामा उत्कृष्ट पाँचमध्येका प्रणवले भने । स्कुल क्याप्टेनमा ६ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारले आफ्नो एजेन्डा राखेर भोट मागेका थिए । सबै मतदाता विद्यार्थीलाई चुनाव चिह्नमा कसरी भोट हाल्ने भन्ने प्रशिक्षण दिइएको थियो ।
पंक्तिबद्ध हुनेहरू हरियो, पहेंलो, रातो, नीलो हाउस ड्रेसमा र अर्को हुल स्कुल ड्ेरसमा थिए । ‘खासमा नागरिकताको प्रमाणपत्र पाएपछि ‘मतदाता परिचयपत्र’ लिएर मात्र चुनावमा भाग लिन पाइन्छ । हामी १८ वर्षमुनिका छौं,’ कक्षा १० की रक्षा बस्नेत र श्रुति दत्तले एकै स्वरमा भने, ‘त्यसैले स्थानीय तहको चुनावमा भोट दिन पाउँदैनौं । तर, स्कुलमा गरेको अभ्यासले धेरै पछिसम्म राम्रो ज्ञान पाएका छौं । भोट इमानदार नेतालाई दिने हो । कसैले पैसा दिएर होइन ।’
कक्षा ९ का छात्र अभिनव भण्डारीले उम्मेदवारको योग्यताबारे भने, ‘राम्रो बोलीचाली, उसका सिद्धान्तहरू, यो भन्दा पहिले उसले केके गरेको थियो र अब केके गर्छु भन्छ, त्यसकै आधारमा भोट दिने हो ।’
म्यादी प्रहरीका रूपमा खटिएका स्काउटर कक्षा ९ का रविन घिमिरे र क्युस श्रेष्ठ भीड नियन्त्रण गर्न चुकेकोमा केही संकोच मान्दै थिए । ‘चुनावी भीड नियन्त्रण गर्न नसके झडप हुने रहेछ,’ रविनले भने, ‘मतदातालाई लाइन मिलाउने, मतपत्र व्यवस्थापन गर्ने, पानी पिलाउने, सारोगाह्रो परेकालाई हेल्थ डेस्कमा लैजाने गर्दैमा हैरान हुने रहेछ ।’ यस्तै, चुनावी अभ्यास राजधानीकै शंखमूलस्थित केएमसी स्कुलका विद्यार्थीले पनि गरे ।
केएमसीका कक्षा ६ देखि १० का करिब ६ सय विद्यार्थीले मतदान गरी हाउस क्याप्टेन, स्कुल प्रिफेक्ट गर्ल, स्कुल प्रिफेक्ट ब्बाइज निर्वाचित गरे । निर्वाचन परिणाम सार्वजनिक भएपछि विजयीलाई शपथ ग्रहण गराइएको थियो । विजयीलाई पुरानाले पद हस्तान्तरण गरेका थिए । विद्यालयका निर्देशक धु्रव भट्टराईले चुनावको प्रयोगात्मक अभ्यासले किताबी ज्ञान व्यवहारमा उतारिएको बताए ।
त्यस्तै, मैतीदेवीस्थित एसएबी पब्लिक स्कुलले पनि कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई चुनावमा सहभागी गराएको थियो । सामाजिक शिक्षा विभाग प्रमुख सुरेश भट्टका अनुसार निर्वाचनको अभ्यासमा ६ सय विद्यार्थी सहभागी थिए । ‘हामी विद्यार्थीलाई हरेक वर्ष निर्वाचन आयोगको कार्यालय भ्रमण गराउँछौं,’ विद्यालयका अध्यक्ष लक्ष्यबहादुर केसीले भने, ‘त्यसैगरी संसद् भवन घुमाउँछौं । यो पटक भने मुलुकमा चुनाव हुनै लागेको अवसर पारेर आफैं सहभागी गरायौं ।’
चुनाव किन ?
हाम्रो मुलुकमा ७ प्रदेश छन् । अहिले हुन लागेको चुनाव स्थानीय तहका लागि हो । यो चुनाव वैशाख ३१ गते पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा र त्यसको एक महिनापछि जेठ ३१ मा बाँकी १, २, र ७ नम्बर प्रदेशमा हुँदै छ । यी सबै चुनाव सकिएपछि प्रदेश सरकार र केन्द्रीय सरकारका लागि पनि चुनाव हुनेछ । 
चुनाव एक प्रजातान्त्रिक पद्धति (डेमोक्रेटिक सिस्टम) हो । ‘डेमोक्रेसी’ लाई हाम्रो मुलुकमा लोकतन्त्र भन्ने गरिएको छ । 
लोकतन्त्रको सुन्दरता निर्वाचन पद्धतिको सफल प्रयोगमा झल्किन्छ । चुनावबाट योग्य जनप्रतिनिधिहरू चुनिन्छन् र उनीहरूले मुलुकलाई सही बाटोमा अघि बढाउन नेतृत्व प्रदान गर्छन् भन्ने अपेक्षा गरिन्छ ।


प्रकाशित: वैशाख २४, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-05-07/20170507110904.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal