१ लाख ३५ हजार वर्षदेखि बोलिरहेको विश्व : अन्वेषण अधिकारी

 फागुन ९, २०८२

अन्वेषण अधिकारी

काठमाडौँ — अहिले विश्वभर झन्डै ७ हजारभन्दा धेरै भाषा बोलिन्छन् । सांकेतिक भाषा नै ३ सयभन्दा धेरै छन् । समाजशास्त्रीय मान्यताअनुसार, भाषा केवल सञ्चारको साधन होइन, हाम्रो पहिचान पनि हो । यसरी मानव जीवनलाई हरेक पाइलामा परिभाषित गर्ने भाषाको उत्पत्ति कसरी भयो ?

यस विषयमा अनेक सिद्धान्त र किंवदन्ती प्रख्यात छन् । धर्मशास्त्रहरूले भाषालाई ‘ईश्वरीय वरदान’ मान्छन् । वैज्ञानिक सिद्धान्तहरूले यसलाई निरन्तरको मानव विकास र खोजसँग जोडेका छन् ।

मानव विकासमाथि चार्ल्स डार्बिनले १९ औं शताब्दीको अन्त्यतिर एक सिद्धान्त अघि सारेका थिए । उनले सन् १८७१ मा प्रकाशित आफ्नो पुस्तक ‘द डिसेन्ट अफ म्यान’ मा मानव, चिम्पाञ्जी र गुरिल्लाबीचको शारीरिक समानतालाई औंल्याउँदै ‘कुनै युगमा मानिस र बाँदरका पुर्खा एउटै हुन सक्ने’ लेखेका थिए । उनले ‘तिनीहरू हाम्रा सबैभन्दा नजिकका जीवित आफन्त’ रहेको निष्कर्ष निकालेका छन् । तर, उक्त पुर्खा अहिले विलुप्त भइसकेको छ ।

स्यामुयल जर्ज मोर्टन, जोसिया नट, जर्ज गिल्ड्डन, चार्ल्स काल्डवेलजस्ता वैज्ञानिकले अघि सारेका ‘बहुउत्पत्ति’ सिद्धान्त १९ औं शताब्दीमा प्रख्यात थिए । उनीहरूका अनुसार, मानिस कुनै निश्चित ठाउँमा उत्पन्न भएर फैलिएको होइन, बरु फरक–फरक ठाउँमा उत्पत्ति भएर विकसित भएका हुन् । तर, आधुनिक परीक्षणका क्रममा मानिसको शरीरमा होमो सेपियन्सको जिनोम भेटिएकाले ‘बहुउत्पत्ति’ सिद्धान्तलाई विज्ञानले खारेज गरिदिएको छ ।

सन् २०१५ मा वैज्ञानिकहरूले उत्तरपश्चिम केन्यामा गरेको अनुसन्धानका क्रममा ३३ लाख वर्ष पुरानो ढुंगाको हतियार फेला पारेका छन् । जो अहिलेसम्म अनुसन्धानबाट प्राप्त सबैभन्दा पुरानो ढुंगा हो । हाम्रा पुर्खाहरूले हतियार बनाउने कला निकै पहिले सिकिसकेको संकेत यसले गर्छ । यस्तो संकेत गर्ने धेरै हातहतियार यसअघि नै भेटिइसकेका थिए । 

मानव विकासक्रममा विभिन्न प्रजाति अस्तित्वमा आउँदै, विलुप्त हुँदै, नयाँ बन्दै गए । झन्डै ३ लाख वा २ लाख वर्षअघि होमो सेपियन्सका रूपमा विकास भएको प्रजाति नै आधुनिक मानवको पुर्खा रहेको वैज्ञानिक अध्ययनहरूको निष्कर्ष छ । छरितो शरीर र लामो खुट्टा भएका यी मानव लामो दूरीसम्म हिँड्न सक्थे । विगतका प्रजातिको दाँजोमा उनीहरूको मस्तिष्कको आकार र सोच्ने सामर्थ्यमा निकै सुधार भइसकेको थियो ।

आगो बाल्ने, सिकार गर्ने, खाना पकाउने र अस्थिर जलवायुमा आत्मरक्षा गर्ने कार्यमा उनीहरू अभ्यस्त भइसकेका थिए । आफ्ना पूर्वजबाटै यो काम उनीहरूले सिकिसकेका थिए । समूहमा बस्ने भएकाले आफूले देखेका नयाँ विषय र सम्भावित खतराबारे उनीहरू सबैलाई जानकारी दिन चाहन्थे । अध्ययनकर्ताहरूका अनुसार, आफ्ना भावनाहरू अभिव्यक्त गर्न मानिसले यो चरणमा सिकिसकेका थिए । तर, ठ्याक्कै बोली वा संकेत कस्ता थिए भन्ने अस्पष्ट छ । दीर्घ स्मरण क्षमता यो चरणमा विकास भइसकेको थियो ।

अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) की प्रोफेसर तथा अनुसन्धानकर्ता सिगेरु मियागावाले समूहमा रहेर केही समयअघि ‘फ्रन्टियर्स साइकोलोजी’ नामक अनुसन्धानात्मक कार्यक्रमको अगुवाइ गरेकी थिइन् । यसक्रममा उनले झन्डै १ लाख ३५ हजार वर्ष पहिले मानिसले भाषा सिकेको निष्कर्ष निकालेकी छन् । यस कार्यपत्र तयार पार्ने क्रममा विगत १८ वर्षमा प्रकाशित भएका १५ वटा विभिन्न भेराइटीका जेनेटिक स्टडिजबारे अध्ययन गरिएको थियो ।

‘मलाई लाग्छ, १ लाख ३५ हजार वर्ष पहिले एउटा निजी सोचका रूपमा भाषा उत्पन्न भयो । तर, चाँडै नै सञ्चार प्रणालीमा बदलियो,’ उनले एमआईटी विश्वविद्यालयसँगको कुराकानीमा भनेकी छन् । होमो सेपियन्सभन्दा अघिका प्रजातिहरूको चरित्र र व्यवहारजन्य चरित्रलाई आधार मानेर केही अध्येताले ‘भाषिक क्षमता दसौं लाख वर्ष पहिलेदेखि नै मानिसको जिनमा कायम रहेको हुन सक्ने’ बताएका छन् । तर, मियागावाले निकालेको निष्कर्ष कुन प्रजातिले पहिले आवाज निकाल्यो भन्नेमा सीमित होइन । यो त मानिसले भाषा विकास गर्न सक्ने स्मरण शक्ति कसरी बनायो भन्नेमा सम्बन्धित छ ।

‘मानिसको भाषा गुणस्तरीय छ । किनकि यसमा शब्द र संयोजन छ । यसले भाषिक प्रणालीलाई पृथक् र जटिल प्रणाली बनाएको छ,’ मियागावाले भनेकी छन्, ‘कुनै पनि अन्य जनावरसँग यस्तो संरचनात्मक सञ्चार प्रणाली छैन । यही कारण हामी धेरै विलासी सोचहरूसहित अरूसँग सञ्चार गर्न सामर्थ्य छौं ।’ मानिसहरू जति फैलिँदै गए, उनीहरूले आफ्नो विकासक्रमका पदचिह्न वा संकेत पनि धर्तीमा छाड्दै गए ।

इन्डोनेसियाको सुलाबेसी प्रान्तस्थित मुना टापुको चुनढुंगाका गुफामा भेटिएको अनुमानित ६७ हजार वर्ष पुराना चित्रदेखि अस्ट्रेलियास्थित एक मुरुजुगामा क्षेत्रमा ढुंगामा कुँदिएको अनुमानित ५० हजार वर्ष पुरानो चित्रसम्मले मानव आप्रवासन र रूपान्तरणको झल्को दिन्छन् । यस्ता पुरातात्त्विक सम्पदा, अवशेष र मानव आप्रवासनबारे वैज्ञानिकहरूले धेरै अध्ययन–अनुसन्धान गरिसकेका छन् ।

१५ औं शताब्दीमा जोनानेस गुटेनवर्गले आधुनिक प्रिन्टिङ प्रेस आविष्कार गरे । यसले सारक्षतालाई थप सहज बनायो । लिखित भाषालाई कुलीनहरूको विलासी माध्यमबाट सर्वसाधारणको दैनिक प्रयोगको माध्यममा रूपान्तरण गरिदियो ।इतिहासका हजारौं–हजार वर्ष घुमेर बिताएपछि झन्डै १२ हजार वर्ष पहिले मानिसले नयाँ प्रयोग थाल्यो, जसलाई हामी ‘कृषि क्रान्ति’ भन्छौं । उसले बीउ रोप्न थाल्यो, जंगली जनावरलाई नियन्त्रण लिएर पाल्न थाल्यो र घर बनायो । यो केवल दैनिक गतिविधिमा आएको परिवर्तन थिएन, बरु मानव अस्तित्वको समझमा क्रान्तिकारी परिवर्तन थियो । यसले बस्ती–विकास र परिवार हुँदै कालान्तरमा सभ्यता, व्यापार र सरकार निर्माणको ढोका खोल्यो । यस प्रक्रियामा भाषा र सञ्चारको आवश्यकता अझै धेरै बढ्नेवाला थियो । झन्डै ५ हजार वर्ष पहिले मेसापोटामियामा हलो आविष्कार भएपछि मानिसका लागि अभिन्न पेसा बन्यो– कृषि । व्यापारले भाषालाई परिस्कृत गर्न र फैलाउन भूमिका खेल्यो । एक ठाउँका बीउबिजनलाई अर्को ठाउँमा लगेर रोप्न, एक ठाउँमा गरिएका आविष्कारलाई दुनियाँको अर्को कुनासम्म फैलाउन सञ्चारको ठूलो महत्त्व थियो । यसमा भाषाले सहजीकरण गरिदियो । 

मानव सभ्यतामा देखिएको विकासक्रमसँगै सञ्चार र भाषामा पनि नयाँ–नयाँ प्रयोग भए । लिखित भाषाको आविष्कार पनि मेसापोटामियामै भयो । झन्डै ३२ सय वर्ष इसापूर्वमा सुमेरियन कुनेईफर्म भाषालाई शिलालेखमा लेखियो । अहिलेसम्म भेटिएका प्रमाणित शिलालेखअनुसार यो सबैभन्दा पुरानो लिपिबद्ध भाषा हो ।

८ सय वर्ष इसापूर्वदेखि ५ सय वर्ष इसापूर्वसम्म संस्कृत, ग्रिक र ल्याटिन भाषामा जटिल व्याकरण संरचना तथा साहित्य विकास भइसकेको थियो । यसले अहिलेको भाषाको औपचारिक नियम तय गर्न मद्दत गर्‍यो । ५ औं शताब्दीमा चीनमा काठको प्रिन्टिङ प्रेस विकास भयो । यसले इतिहास दस्ताबेजीकरणमा भाषाको भूमिकालाई थप महत्त्व दियो ।

१५ औं शताब्दीमा जोनानेस गुटेनवर्गले आधुनिक प्रिन्टिङ प्रेस आविष्कार गरे । यसले सारक्षतालाई थप सहज बनायो । लिखित भाषालाई कुलीनहरूको विलासी माध्यमबाट सर्वसाधारणको दैनिक प्रयोगको माध्यममा रूपान्तरण गरिदियो । २० औं शताब्दीको अन्त्यदेखि एक्काइसौं शताब्दीसम्म आइपुग्दा इन्टरनेट, टेक्स्ट म्यासेज, सामाजिक सञ्जाललगायतले भाषालाई सरल, सबल र परिस्कृत बनाउँदै लगेको छ । आजका दिनमा एकै मानिसले धेरै भाषा सिक्ने र बोल्ने गर्छन् । भाषासम्बन्धी ज्ञान नभएकाहरूले पनि डिजिटल माध्यमबाट भाषिक अनुवाद गरेर फरक भाषाका मानिससँग अन्तरक्रिया गर्न सक्छन् । सांकेतिक भाषा र ब्रेनलिपि पनि परिस्कृत हुँदै आएको छ ।

नेपालमा भाषिक विकासक्रम

२०७८ को पछिल्लो जनगणनाले १ सय २४ वटा मातृभाषालाई पहिचान गरेको छ । नेपालमा अहिले १ सय २४ वटा मातृभाषा छन् । यसमध्ये कुनै पनि भाषा यहाँ उत्पत्ति भएको देखिँदैन भन्छन् भाषाविज्ञ डा. तारामणि राई । मानव आप्रवासनका क्रममा यी सबै भाषा परिस्कृत हुँदै नेपालमा आइपुगेका हुन् भन्ने उनको मत छ । ‘५ प्रमुख भाषिक परिवारअन्तर्गत यी भाषाहरू पर्छन् । भारोपेली भाषा, चिनियाँ–तिब्बती भाषा, आग्नेय भाषा, द्रविडियन भाषा र एकल भाषा छ । कुसुन्डा एकल भाषा परिवारको हो । यसको कुनै भाषिक परिवार नै छैन ।

नेपालमै उत्पत्ति भएको भन्ने आधार पनि भेटिँदैन । नेपालमा खर्स–आर्य समुदायले भारोपेली भाषा र जनजातिहरूको ठूलो जनसंख्याले चिनियाँ–तिब्बती भाषा बोल्ने गर्छन् । जर्मनीको म्याक्सप्ल्यांक इन्स्टिच्युटले गरेको अध्ययनले झन्डै ६ हजार वर्षअघि चिनियाँ भाषाबाट तिब्बती भाषा छुट्टिएर (भोट–बर्मेली भाषा) बनेको र झन्डै ५ हजार वर्षअघि नेपालको हिमाली भेगमा आइपुगेको देखाउँछ । अहिले यस परिवार समूहका धेरै भाषाहरू नेपालमा बोलिन्छन्,’ राई भन्छन् ।

राईको अध्ययन छ– दैलेखको दुल्लुमा भेटिएको दामुपालको शिलालेखलाई आधार मान्दा खस भाषाको इतिहास कम्तीमा १ हजार वर्ष पुरानो रहेको देखिन्छ । सिञ्जा, पर्वत, गोर्खालगायत खस साम्राज्यअन्तर्गतका क्षेत्रमा यो भाषा बोलिन्थ्यो । ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस भाषा आधुनिक नेपाली भाषाका रूपमा विकास भयो । क्रमशः यो भाषा बोलीचालीमा सबैभन्दा धेरै प्रयोग हुने भाषा बन्यो । शिक्षामा नेपाली भाषाको प्रयोग भएपछि यो एउटा मापनका रूपमा स्थापित भयो,’ राई भन्छन्, ‘भाषिक राजनीतिले भाषालाई खुम्याउने र फैलाउने काम गर्छ । पञ्चायतकालमा थोरै मात्र भाषालाई मातृभाषाको मान्यता दिइएको थियो । किनकि, त्यसबेला ‘एक भाषा, एक भेष, एक देश’ नीति अघि सारिएको थियो । तर, लोकतन्त्र आएपछि बहुभाषिक पहिचानलाई मान्यता दिन थालियो, जसले नेपालमा बोलिने मातृभाषाको पहिचान सहज बन्दै गयो ।’

२०७८ को पछिल्लो जनगणनाले १ सय १४ वटा मातृभाषालाई पहिचान गरेको छ । नेपालमा बोलिने भाषा (राष्ट्रिय जनगणना २०७८ को रिपोर्ट)

भारोपेली परिवारअन्तर्गतका भाषा : नेपाली, मैथिली, भोजपुरी, थारू, बज्जिका, अवधी, डोटेली, उर्दू ,मगही, बैतडेली, लअछामी, राजवंशी, खस, बझाङी, हिन्दी, रानाथारू, बाजुरेली, दार्चुलेली, अंगिका, माझी, गन्गाई, बंगला, मारवाडी,डडेल्धुरी, ताजपुरिया, कुमाल, मुसलमान, संस्कृत, दरै, जुम्ली, बोटे, पहरी, दैलेखी, केवर्ट, डोने, सांकेतिक भाषा ,बारागुवा, साद्री, अंग्रेजी, सोनहा, किसान, पन्जावी, कुर्माली, सिन्धी, माल्पाँडे, सधानी, हरियान्वी ।

चिनियाँ–तिब्बती परिवारअन्तर्गतका भाषा : तामाङ, नेपाल भाषा/नेवारी, मगर ढुट, याक्थुङ/लिम्बू, गुरुङ, राई, बान्तवा, शेर्पा, मगर खाम, चाम्लिङ, चेपाङ, कुलुङ, सुनुवार, थामी, थुलुङ, घले, साम्पाङ, धिमाल, खालिङ, वाम्बुले, वाहिङ/वायुङ , याक्खा , भुजेल, भोटे, याम्फू/याम्फे, नाछिरिङ , ह्योल्मो/योल्मा, दुमी, मेवाहाङ, पुमा, पहरी, आठपहरिया, दुङ्माली, जिरेल, तिब्बती, चुम/नुब्री, छन्त्याल, राजी, थकाली, मेचे, कोयी, लोहोरुङ, डोल्पाली, मुगाली, जेरो/जेरुङ, कर्मारोङ, छिन्ताङ, ल्होपा, लाप्चा, मनाङे, छिलिङ, दुरा, तिलुङ, ब्याँसी, बालकुरा/बरम, मगर/काइके, हायु/वायु, धुलेली, खाम्ची/राउटे, लुङ्खिम, लोवा/लोबा, कागते, वालिङ/वालुङ, नार–फू, लोमी, तिछोरुङ पोइके, कोचे, पाङ्दुवाली, बेलहारे, सुरेल, साम, वनकरिया ।

आग्नेली परिवार र यसअन्तर्गतका भाषा : सन्थाली, मुन्डा, खरिया ।

द्रविडेली परिवार र यसअन्तर्गतका भाषा : उराँव/उराउ

एकल परिवारअन्तर्गतको भाषा : कुसुन्डा

https://ekantipur.com/koseli/2026/02/21/the-world-has-been-speaking-for-135000-years-41-28.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

Offer to include Kalapani in 2011 Nepali census was neglected: An interview with Rudra Suwal

हाम्रा गीत प्राज्ञिक छैनन् : गायक राजेशपायल राई