भाषाको भाषा नेपाली राष्ट्रभाषा कसरी सुरु भयो? : लक्ष्मणप्रसाद गौतम
फागुन ९, २०८२
काठमाडौँ — के हो जनसम्पर्क भाषा ? उत्तर अनेक हुन सक्छन् । तर, तथ्यमा रहेर भाषाका दृष्टिले हेर्दा जुन भाषाले जनताबीच सम्प्रेषणका लागि पुलको काम गर्छ, सेतुको काम गर्छ वा दुई भिन्न भाषिक समुदायलाई जोड्ने वा एकै ठाउँमा ल्याउने काम गर्छ, त्यस्तो भाषालाई जनसम्पर्कको भाषा मानिन्छ ।
यस्तो भाषाले टुक्र्याउने होइन, जोड्ने काम गर्छ । नेपालका सन्दर्भमा नेपाली राष्ट्रभाषा यस्तै जनसम्पर्कको भाषा हो, त्यसैले यो सम्पूर्ण नेपालीहरूको साझा भाषा हो ।
नेपाली भाषा सरकारी कामकाजको भाषा भएकाले मात्रै राष्ट्रभाषा भएको होइन, यो त राष्ट्रको पहिचानको मूलभूत आधार भएकाले पनि राष्ट्रभाषा बनाइएको होइन, भएको हो । नेपाली भाषाको इतिहास अलिखित रूपमा अनादिकालदेखिको छ अर्थात् जहिलेदेखि नेपालीहरूको अभिव्यक्तिले वाणी पायो, त्यसै समयदेखि नेपाली भाषाको अस्तित्व छ, तर यसको अभिलिखित अस्तित्व भने एक हजार वर्षभन्दा बढीको छ ।
नेपाली भाषाको उत्पत्ति करिब एक हजार वर्षपूर्व भएको कुरा भाषाका इतिहासकारहरूले उल्लेख गरे पनि भाषिक इतिहासका अध्येता ‘नेपाली भाषाका हजार वर्ष’ पुस्तकका लेखक मोहनप्रसाद खनालले गोपाल वंशावलीका पत्रहरूका आधारमा ‘सम्वच्छर चारि सय आठ, सम्वच्छर चारि सय नव’ जस्ता पदावलीको उल्लेख गरी यसको ऐतिहासिक पृष्ठभूमि विक्रम संवत् ४०८ सम्म पुर्याएका छन् । यस भाषाले ‘नेपाली भाषा’ नाम पाउनुअघि क्षेत्रका आधारमा यसको नामकरण भएका इतिहासले देखाउँछ । नेपालमा उपलब्ध अभिलेखका दृष्टिले हेर्ने हो भने दामुपालको अभिलेख (१०३८), ‘वामु खड्काको स्तम्भलेख’ (विसं ११५१) र अशोक चल्लको ताम्रपत्र (विसं १२१२) नै नेपाली भाषाको पहिलो अभिलेख भएका र क्रमशः दुल्लु र कर्णालीको सिञ्जामा प्राप्त यी अभिलेखबाट नै नेपाली भाषाको खास इतिहास सुरु हुन्छ ।
यसरी विकास भएको नेपाली भाषाको इतिहास वा विकास प्रक्रियालाई एघारौं शताब्दीदेखि सोह्रौं शताब्दीको मध्य (१५५५) सम्मको अवधिलाई प्राचीनकाल, १५५५ देखि पृथ्वीनारायण शाहले नेपाल एकीकरण सम्पन्न गरेको समय १८२६ सम्म मध्यकाल र १८२६ देखि यताको समयलाई आधुनिककाल मानेर अध्ययन गरिएको पाइन्छ ।
खस भाषा, पर्वते भाषा, पहाडी भाषा, मल्ल भाषा, गोर्खा वा गोरखा भाषा आदि नामले पनि यो भाषा परिचित रहेको इतिहास छ । काठमाडौं उपत्यकालाई पहिले नेपाल भनेर चिनिने र पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि गोर्खा भाषा हुँदै यही नेपाल नामबाट नेपाली भाषा नाम रहेको तथ्य छ । यसले पहिले विशाल नेपालमा रहेका नेपालीहरूको भाषा भन्ने बुझाउँथ्यो भने अहिले नेपाली जाति संसारभरि फैलिएर महाजाति भएको छ । यो भाषा पनि ती सबै ठाउँमा फैलिएको हुनाले विराट् भाषा भएको छ ।
भाषाको स्वभाव परिवर्तनशील हुन्छ र नेपाली भाषाले पनि इतिहासका विभिन्न कालखण्डमा आफूलाई परिवर्तन गर्दै ल्याएको छ । भानुभक्तकालीन र मोतीरामकालीन भाषा अहिले छैन र अहिलेको भाषा पनि कालान्तरमा परिवर्तन भएर देखिनेछ । समयअनुसार जे–जसरी र जुन रूपमा परिवर्तन भए पनि नेपाली भाषा नेपाल नेपालीको एकताको बलियो सूत्र हो ।
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । नेपालमा अहिले जातीय र क्षेत्रीय रूपमा एक सय चौबीस वटा भाषा बोलिन्छन् भन्ने तथ्यांक छ । ती एक सय चौबीस भाषा बोल्ने भाषाभाषीले केही भाषालाई छाडेर प्रायः एउटाले बोल्ने भाषा अर्कोले बुझ्दैन । खस आर्यहरूको आफ्नो कुनै मातृभाषा नभएकाले तिनीहरू परस्परमा बोल्दा नेपाली भाषा नै बोल्छन् र तिनको मातृभाषा भने पनि जनसम्पर्कको भाषा भने पनि नेपाली भाषा नै हो । हाम्रो जस्तो बहुभाषी मुलुकमा एउटा भाषाभाषी र अर्को भाषाभाषीबीच सम्प्रेषण सूत्रको काम गर्ने जनसम्पर्कको भाषा चाहिन्छ र त्यो भनेको नेपाली भाषा हो ।
नेपाली भाषाको इतिहास अलिखित रूपमा अनादिकालदेखिको छ, जहिलेदेखि नेपालीको अभिव्यक्तिले वाणी पायो, त्यसै समयदेखि । इतिहासमा नेपाली भाषा खस, पर्वते, पहाडी, मल्ल, गोर्खा वा गोरखा आदि नामले पनि परिचित छ ।बहुभाषिकता नेपालको सौन्दर्य हो र हरेक भाषाले यहाँ त्यत्तिकै सम्मान पाउनुपर्छ । कुनै पनि भाषालाई मृतभाषा बन्न दिनु हुँदैन । अहिले कतिपय भाषाहरू लोपोन्मुख छन् र तिनका वक्ता पाउन कठिन छ । यस्तो स्थितिमा त्यस्ता भाषालाई त्यस भाषाभन्दा भिन्न भाषिक समुदायमा सम्प्रेषण गरेर जीवन्त तुल्याउन पनि जनसम्पर्कको भाषाका रूपमा नेपाली भाषाको महत्त्व रहेको छ ।
एउटा नेवारले नेवारसँग बोल्दा वा कुरा गर्दा नेपाल भाषा वा नेवारीमा कुरा गर्छ । एउटा मगरले मगरसँग बोल्दा वा कुरा गर्दा मगर भाषामा नै कुरा गर्छ । एउटा गुरुङले गुरुङसँग आफ्नो अभिव्यक्ति प्रस्तुत गर्दा गुरुङ भाषामा नै कुरा गर्छ । एउटा मैथिलले मैथिलसँग बोल्दा वा कुरा गर्दा मैथिली भाषामा नै कुरा गर्छ र एउटा अवधी वा भोजपुरी भाषीले तत्तत् भाषीसँग कुरा गर्दा तिनले आ–आफ्नै मातृभाषामा नै कुरा गर्छन् । अझ राई र लिम्बू भाषामा पाइने धेरै भाषिक भेदहरूले त ती भाषाभाषीहरूबीच पनि आफ्नो अभिव्यक्ति सम्प्रेषण हुन नसक्ने अवस्था रहेको हुन्छ । बहुभाषी मुलुक वा समुदायमा यस्ता स्थिति धेरै हुन्छन् ।
जब बाहुनले कुनै नेवार, गुरुङ, मगर वा भोजपुरीसँग अथवा तामाङ, शेर्पा वा मुसहरले क्षत्री, राई वा लिम्बूसँग, कुनै थारू, धिमाल वा डोटेली र बझाङीले आफूभन्दा भिन्न भाषिक समुदायसँग कुरा गर्दा उसलाई जनसम्पर्कको भाषा नै चाहिन्छ र उसले यस्तै जनसम्पर्कको भाषाका माध्यमबाट आफ्नो अभिव्यक्ति प्रस्तुत गर्छ । नेपालका भाषाका सन्दर्भमा नेपाली भाषा नेपालीहरूका लागि संयोजक सूत्रको भाषा पनि हो ।
नेपाली भाषाले भाषिक दृष्टिले नेपालको एकीकरण गरेको छ भने पृथ्वीनारायण शाहले भौगोलिक दृष्टिले नेपालको एकीकरण गरे । हाम्रा लागि बहुजातीय र बहुभाषिक सौन्दर्यको कडी हो– नेपाली भाषा । भाषा अभिव्यक्तिको माध्यम मात्रै होइन, सभ्यता र संस्कृति पनि हो । भाषा मासिए सभ्यता मासिन्छ र संस्कृति नासिन्छ । भाषा पहिचान पनि हो र भाषा समाप्त भए पहिचान पनि समाप्त हुन्छ ।
नेपालमा रहेका एक सय चौबीस वटा भाषालाई बचाउने हो र तिनका बीच राम्रो भाषिक सम्प्रेषण र सहकार्य गराउने हो भने जनसम्पर्कको भाषाका रूपमा नेपाली भाषा सबल हुनु आवश्यक छ । कुनै पनि भाषाभाषी समुदायबीच कुनै पनि भाषाप्रति निषेध र आग्रह होइन, स्वीकार सम्पन्नतामा भाषाभाषीहरू लाग्नु आवश्यक छ ।
धेरै पहिले नेपाल र भारतका केही ठाउँ नेपालीभाषी क्षेत्र थिए । अहिले भूमण्डलीकरणको युग छ र नेपालीहरू धेरै मुलुकमा छरिएर रहेको अवस्था छ । ती नेपालीहरू जहाँ–जहाँ वा संसारका जुन–जुन मुलुकमा फैलिएर रहे, तिनले आफूसँगै आफ्नो भाषा, संस्कृति र परम्परा पनि लगेका छन् । यो नेपाली जातिबाट महाजाति भएको विशेषता हो । आजको परिवेशमा यस व्यापकताको सौन्दर्यलाई सम्मान गर्नुपर्छ । भारत, म्यान्मा, थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया आदि मुलुकहरूमा छरिएर रहेका नेपालीहरूले आफ्नो नेपाली महाजातीय भाषा बचाउन पाठ्यक्रम र पाठ्यपुस्तकसमेत निर्माण गरेर पठनपाठन हुनु यही पहिचानको खोजी हो ।
स्वदेशमा जस्तै बाहिरी मुलुकमा छरिएर रहेका नेपालीहरू पनि विभिन्न जाति, क्षेत्र, समुदाय आदिमा समेत छरिएर रहेका छन् र तिनका पनि आ–आफ्नै संस्था, संघ र संगठनहरू छन् । ती सबै जब एउटै थलोमा आउँछन्, त्यति बेला आफूभन्दा भिन्न भाषिक समुदायमा आफ्नो मनको कुरा भन्न वा आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न उनीहरूले जनसम्पर्कको भाषाका रूपमा नेपाली भाषा नै प्रयोग गर्छन् । तसर्थ यो भाषा स्वदेश वा विदेशमा छरिएर रहेका नेपालीहरूको एकताको प्रतीक बनेको भाषा पनि हो भन्ने स्पष्ट हुन्छ ।
नेपाली भाषामा पछिल्लो समयमा भाषालाई सरल बनाउने आवरणमा यसलाई नजानिँदो किसिमले समाप्त पार्नतिर नेपालीहरू नै उद्यत भएको र देवनागरी लिपिका संयुक्ताक्षरको सौन्दर्यलाई नै समाप्त पार्नतिर उन्मुख भएको पनि देखिएको छ र त्यो सुनियोजित अभियान परास्त पनि भएको छ ।
हरेक जाति र क्षेत्रमा प्रचलित वा बोलिने भाषाको सबै ठाउँमा उत्तिकै महत्त्व हुन्छ तर सम्पर्क भाषाले दुई वा सोभन्दा बढी भाषाबीच दूरी कम गर्छ र तिनका बीच निकटताको काम गर्छ ।
अहिले नेपाली भाषामा मौलिकता हराउन थालेको छ । कतिपय मौलिक शब्दसँग आजको जेन–जी पुस्ता अपरिचित छ । उनीहरू पचहत्तर प्रतिशत अंग्रेजी मिसाएर बोल्छन् र प्रायः क्रियापद मात्रै नेपाली प्रयोग गरेर अरू अंग्रेजी प्रयोग गर्छन् ।
अठ्चालिस र त्रिहत्तर भन्नुभन्दा ‘फोर्टिएट र सेभेन्टी टु’ आदि–आदि भन्न उनीहरूलाई सजिलो लाग्छ । यो उनीहरूको दोषभन्दा पनि परिस्थितिको उपज हो । राष्ट्रभाषा त्यसमा पनि जनसम्पर्कको नेपाली भाषामा देखिएका विचलनहरूले भविष्यमा हाम्रो नेपाली पहिचान र नेपालीत्वलाई अप्ठ्यारोमा नपारून् । (गौतम त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक हुन्)
https://ekantipur.com/koseli/2026/02/21/how-did-nepali-the-national-language-start-24-54.html

Comments
Post a Comment