भाषाको भाषा - नेपालमा हजारभन्दा कम जनसंख्याले बोल्ने २३ भाषा : उपेन्द्रराज पाण्डेय

 फागुन ९, २०८२ उपेन्द्रराज पाण्डेय

काठमाडौँ — भाषाको मृत्यु ! भाषा मर्‍यो ! के जीवजन्तु र बोटविरुवाझैं भाषा पनि मर्छन् ? झट्ट सुन्दा यो विषय नौलो/नवीन लाग्न सक्छ । तर, संसारमा धेरै भाषा मरिरहेका छन् । बेलायती भाषाविद् डेभिड क्रिस्टलको तर्क छ– मान्छेजस्तै भाषा पनि मरिरहेको छ । तर, भाषा किन मरिरहेका छन् त ? आखिर भाषा मर्नु भनेको के हो ? यिनै विषयमाथि बहस गर्दै उनले एक पुस्तक लेखेका छन्– ‘ल्याङ्वेज डेथ’ ।

क्रिस्टल भन्छन्, ‘भाषा मर्‍यो भन्नु मानिसको मृत्यु भयो भन्नु जस्तै हो । अर्को कुरा हुनै सक्दैन– मान्छे छैन भने भाषाको पनि कुनै अस्तित्व छैन । जब कसैले कुनै भाषा बोल्न छाड्छन्, तब त्यो भाषा पनि मर्छ ।’ विश्वका अधिकांश भाषा बोल्नेको संख्या मात्रै घटिरहेको छैन, भाषा नै हराइरहेको छ । क्रिस्टलकै मत मान्ने हो भने विश्वमा बोलिनेमध्ये झन्डै आधा भाषा मृतप्रायः छन् । आखिर किन मरिरहेका छन् भाषाहरू ?

‘नेपालका मातृभाषा र मातृभाषामा शिक्षा’ का अभियन्ता अमृत योन्जन–तामाङको चाहिँ तर्क छ– राज्यको नीति, बसाइँसराइ, भाषिक प्रभुत्व र कल्चरल एसिमिलेसन (सांस्कृतिक सम्मिलन) आदि कारणले भाषा हराउँदै गएको छ । ‘ठूलो भाषा (वक्ता संख्याका आधारमा) को प्रभाव, राज्यको नीति (एउटै भाषा, एउटै नीति), भाषिक प्रभुत्ववादजस्ता कारणले नै हो, चल्तीमा रहेका, तर थोरै वक्ता रहेका भाषा हराएको,’ उनी भन्छन् ।

भाषा संरक्षण र भाषा आयोगमा समेत काम गरेका तामाङले नेपालका विभिन्न भाषाहरू र उनीहरूको अवस्था समेटेर ‘नेपालका भाषाहरू’ पुस्तकै लेखेका छन् । भाषामाथि राजनीति र भाषाको राजनीति हुने तर्क प्रस्तुत गर्दै उनी लेख्छन्, ‘राजनीतिक दृष्टिकोणबाट हेर्दा भाषा शक्ति हो र शक्तिको अजस स्रोत पनि । यसै शक्तिको कारण भाषामाथि राजनीति हुन्छ र भाषाको राजनीति हुन्छ । यसै कारण भाषिक साम्राज्यवाद स्थापित हुन्छ, राज्यको शासन व्यवस्थामा सत्तासीन भाषाले दादागिरी चलाउँछ, ‘एक भाषा–एक नीति’ लागू गर्छ ।’

संवैधानिक रूपमा हेर्ने हो भने नेपालमा २०४७ को संविधानपछि मात्रै नेपाल बहुभाषातर्फ उन्मुख भएको पाइन्छ । धारा ६ मा भनिएको छ, ‘नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू राष्ट्रिय भाषा हुन् ।’ त्यस्तै सोही संविधानले नै मातृभाषामा प्राथमिक शिक्षाको प्रावधान राखेको थियो । धारा १८ (२) मा भनिएको थियो, ‘प्रत्येक समुदायले बालबालिकालाई प्राथमिक तहसम्म आफ्नो मातृभाषामा शिक्षा दिने गरी विद्यालय सञ्चालन गर्न पाउनेछ ।’ तर, के कार्यान्वयनमा आएको छ ? बहस निरन्तर छँदै छ ।

माओवादी ‘जनयुद्ध’, मधेश आन्दोलन, आदिवासी जनजाति पहिचानका संघर्ष र जनआन्दोलनले भने भाषिक पहिचानको आन्दोलनलाई बल पुगेकै हो । त्यसैले २०७२ मा जारी नेपालको संविधानका ७ वटा धारामा भाषासम्बन्धी नै प्रावधान छन् । अहिले सरकारी अखबार ‘गोरखापत्र’ ले विभिन्न मातृभाषामा ‘नयाँ नेपाल’ पृष्ठ प्रकाशन गरिरहेको छ । त्यस्तै ‘रेडियो नेपाल’ र निजी रेडियोहरूले पनि विभिन्न भाषामा सामग्री प्रसारण गर्न थालेका छन् । यी प्रयत्नका बाबजुद नेपालमा धेरै भाषा मृतप्रायः छन् ।

२०११ सालमा तत्कालीन नेपाल शिक्षा परिषद्का अध्यक्ष सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा गठित आयोगले तयार पारेको ‘नेपालमा शिक्षा : नेपाल राष्ट्रिय शिक्षा आयोगको विवरण’ मा मातृभाषालाई किनारीकृत गर्न अनेकन् सुझाव दिइएको थियो । उक्त प्रतिवेदनमा भनिएको थियो, ‘नेपाली भाषाबाहेक अरू स्थानीय भाषा, उपभाषालाई लड्काको जीवनसम्बन्धी मुख्य स्कुल र खेलमैदानबाट शीघ्रातिशीघ्र हटाउनु आवश्यक छ ।’

त्यही प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली भाषाबाहेक नेपालका अरू स्थानीय भाषाको अध्ययनले नेपाली भाषाको प्रभावपूर्ण विकासमा बाधा दिनेछ, किनभने घरमा र समाजमा विद्यार्थीले नेपालीभन्दा अरू भाषालाई बढ्ता प्रयोगमा ल्याउने भएमा नेपाली एक बिरानु भाषा हुनेछ । यदि केटाकेटीहरूलाई प्रारम्भिक भाषाका रूपमा नेपाली नै सिकाइयो भने अरू भाषाहरू क्रमशः गौण हुँदै जानेछन् । फलतः राष्ट्रिय बल तथा एकतामा वृद्धि हुनेछ ।’ यसबाट आयोगले नेपाली भाषाको प्रभुत्वलाई नै समर्थन गर्दै थिचोमिचो गरी अरू भाषालाई संकटमा पार्ने प्रयत्न गरेको स्पष्ट हुन्छ ।

मातृभाषा र संस्कृतिको महत्त्वमाथि जोड दिँदा स्कटिस लेखक जेम्स केल्मनको भनाइ सान्दर्भिक हुन्छ । सन् १९९४ को बुकर पुरस्कार वितरण समारोहमा उनले भनेका थिए, ‘मेरो संस्कृति र मेरो भाषालाई बाँचिरहने अधिकार छ, यसलाई नकार्ने अधिकार कसैलाई पनि छैन । जब म सोच्छु, एक दिन मेरो भाषा मानिसहरूको ओठबाट हराएर जानेछ, तब मेरो अन्तरमनमा चिसो गढ्नेछ र त्यो गढाइ मेरो आफ्नै मृत्युभन्दा पनि गहिरो हुनेछ किनकि त्यो केवल मेरो मृत्यु होइन, मेरो सम्पूर्ण जाति समुदायको पहिचानको सामूहिक अवसान हो ।’

नेपालमा कुन–कुन भाषा संकटमा छन् ?

भाषाविद्हरू वक्ता संख्या, लिपि विकास र साहित्यका आधारमा भाषाको अवस्था वर्गीकरण गर्छन् । दस लाखभन्दा धेरै वक्ता भएका भाषा सुरक्षित मानिन्छन् । नेपालमा सुरक्षित भाषाका रूपमा रहेका छन्– नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ र बज्जिका ।

त्यस्तै, एक लाखदेखि १० लाखसम्म व्यक्तिले बोल्ने भाषालाई सुरक्षितप्रायः भाषा मानिन्छ । यस वर्गमा अवधि, नेपालभाषा, मगर (ढुट), डोटेली, उर्दू, लिम्बू, गुरुङ, मगही, बैतडेली, अछामी, राई, बान्तवा, राजवंशी, शेर्पा र खसभाषा छन् । त्यसैगरी १० हजारदेखि १ लाखसम्म वक्ता संख्या रहेको भाषालाई लोपोन्मुख भाषाको श्रेणीमा राखिन्छ । नेपालमा यस श्रेणीमा ३२ वटा भाषा रहेका छन् । त्यसैगरी एक हजारदेखि १० हजारसम्मले बोल्ने भाषालाई मरणोन्मुख श्रेणीमा राखिएको छ । यस श्रेणीमा ४१ भाषा छन् ।

एक हजारभन्दा कम वक्ता संख्या भएका भाषालाई मृतप्रायः भाषा भन्ने गरिएको छ । केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको ‘तथ्यांकीय वर्ष पुस्तिका–२०१५’ मा अरबी, स्पेनिस, फ्रान्सेली, रसियन, अंग्रेजी, गढवाली, जोङ्खा, उडिया, संस्कृत, चिनियाँ, बंगाली, पञ्जाबी, तिब्बती र मुसलमान भाषालाई पनि नेपालको मातृभाषाको सूचीमा उल्लेख गरिएको छ । सूचीमा वक्ताको संख्या कम देखाइए पनि नेपालबाहिर भने बोल्नेहरू धेरै छन् । त्यसैले पनि यी भाषालाई मृतप्रायः भाषा भन्न नमिल्ने भाषाविद्हरूको तर्क छ ।

संख्या कम हुँदैमा मृत भन्न नसकिने भाषाविद् प्रा. दानराज रेग्मीको मत छ । ‘वक्ता संख्या कम हुनु भनेको भाषा लोप हुने अवस्थामा छ भन्ने आधार त हो, तर सबै भाषामा यसलाई मात्रै आधार मान्न सकिन्न,’ रेग्मी भन्छन्, ‘पर्याप्त साहित्य छ भने त्यो भाषालाई पुनर्जीवित गर्न सकिन्छ ।’ वक्ता संख्या कम भएको, तर पर्याप्त साहित्य भएको ल्याटिन र संस्कृत भाषाको उदाहरण उनले दिए ।

कुसुन्डा भाषा : पूर्ण वक्ता एक जना मात्रै

‘राष्ट्रिय जनगणना–२०७८’ अनुसार, कुसुन्डा भाषा बोल्नेको संख्या २३ देखिन्छ । तर, भाषा आयोगका अनुसार, कुसुन्डा बोल्न सक्ने एकमात्रै मातृभाषी वक्ताका रूपमा कमला सेन (खत्री) छिन् । यसअघि कुसुन्डा भाषाकी जानकार ज्ञानीमैया सेनको २०७६ माघ ११ मा निधन भइसकेको छ । भाषा जान्ने कम भए पनि कुसुन्डाहरूको संख्या भने २५३ छ । कुसुन्डा भाषा बचाउन विभिन्न प्रयास भइरहेका छन् । कमला भक्तपुरको इँटा कारखानामा मजदुरी गर्थिन् । भाषा आयोगले उनलाई दाङ लगेर घर बनाइदियो । मासिक भत्ता दियो, अनि भाषा संरक्षण र संवर्द्धनमा सहयोग लियो । अहिले कमला र उदयराज आलेहरूले नयाँ पुस्तालाई कुसुन्डा भाषा सिकाइरहेका छन् ।

अध्येता अमृत योन्जन–तामाङ पछिल्लो समय कुसुन्डा भाषा जान्नेको संख्या बढिरहेको बताउँछन् । अहिले भाषा शिक्षणमार्फत एक दर्जन जति किशोरकिशोरीले कुसुन्डा भाषा सिकिरहेका छन् । वक्ता संख्या घट्दै जाँदा भाषा पुस्तान्तरण हुन सकेको छैन । कुसुन्डा जातिका नयाँ पुस्ता नेपाली नै बोल्छन् ।

मुसेधापका बनकरिया

वक्ता संख्याका हिसाबले बनकरिया भाषा पनि लोपोन्मुख अवस्थामा रहेको छ । चल्तीमा रहे पनि २०६८ को जनगणनामा मात्रै यो भाषामाथि नजर परेको थियो । जनगणना–२०७८ अनुसार, यो जातिको जनसंख्या १८० रहे पनि वक्ता संख्या ८६ मात्रै छ । मनहरी–७, मुसेधाप बस्तीमा २४ घरधुरी बनकरियाको बसोबास छ । २०५९ सालमा लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत बनकरियाको बसोबास यहीं मात्रै छ । २० वर्षअघिसम्म भने उनीहरू पर्सा जिल्लाको मध्यवर्ती क्षेत्र चुरेघाँचमा बस्दै आएका थिए । २०६२ सालमा जंगली जीवनबाट मानवबस्तीमा ल्याउने योजनाअनुरूप उनीहरूलाई मुसेधाप सारिएको थियो । साहित्य सिर्जना, शब्दकोश र व्याकरण विकास नभएको बनकरिया भाषाको लिपि पनि अलिखित नै छ ।

घट्दो छ मालपाँडे भाषा

त्यस्तै वक्ता संख्या घट्दो क्रममा रहेको अर्को मातृभाषा हो– मालपाँडे । ‘राष्ट्रिय जनगणना–२०७८’ अनुसार, यो भाषा बोल्नेको संख्या १६१ मात्रै छ । ‘राष्ट्रिय जनगणना–२०६८’ मा पहिलो पटक अभिलेख गरिएको यो भाषा बोल्ने मालपाँडे समुदाय झापाको बिर्तामोडतिर छन् । यस भाषामा साहित्य सिर्जना, शब्दकोश, व्याकरण र पठन सामग्री भने भेटिँदैनन् । यो भाषा परिवारका सदस्य, पारिवारिक जमघट, पूजापाठ र लोकवार्ता आदिमा मात्रै खुम्चिएको छ ।

‘भाषा बचाउन, वक्तालाई बचाऔं’

तेस्रो पुस्ताले घरभित्र आफ्नो मातृभाषा बोल्ने, तर घरबाहिर नबोल्ने भए त्यस्तो भाषा संकटोन्मुख अवस्थामा पुग्छ । त्यसैगरी तेस्रो पुस्ताले घरभित्र पनि आफ्नो मातृभाषा नबोले त्यो भाषा संकटग्रस्त स्थितिमा रहेको मानिने भाषाविद्हरूको ठम्याइ छ । ‘वक्ता नबाँचे, भाषा बाँच्दैन’ भन्नेमा सबै भाषाविद्को मतैक्य छ । तर, भाषा बचाउन अल्पसंख्यामा रहेका वक्ताको जीविका सहज बनाउनुपर्छ । उनीहरू बसाइँ सर्न बाध्य हुनुपर्ने अवस्था आउन दिनुहुँदैन । छरिएर रहेका भाषिक समुदाय एकैठाउँ बसे भाषा पुस्तान्तरण हुन सक्छ । नीतिगत सुधारलाई प्राथमिकता दिँदै प्रा.रेग्मी भन्छन्, ‘नेपालले अहिलेसम्म भाषिक नीति बनाएको छैन । भाषाको प्रयोग र उपादेयताका विषय समेटेर सरकारले भाषा नीति बनाउनुपर्छ । जबसम्म भाषा बोल्ने समुदायलाई नै त्यसमा सक्रिय सहभागी गराइँदैन, होटेलहरूमा हुने बहस र कार्यक्रमले केही पनि अर्थ राख्दैन ।’

भाषिक अभियन्ता अमृत योन्जन–तामाङ पनि ‘वक्तालाई बचाए मात्रै भाषा बच्ने’ बताउँछन् । ‘भाषा त बोल्न छाड्ने हो भने हराएर जान्छ । त्यसैले सबैभन्दा पहिले बोलिराख्नुपर्छ । राज्यले सबै भाषा विशेष गरी लोपोन्मुख र मृतप्रायः अवस्थामा पुगेका भाषालाई संरक्षण र संवर्द्धन गर्ने नीति अँगाल्नुपर्छ,’ योन्जन भन्छन् ।

नेपालमा हजारभन्दा कमले बोल्ने भाषा

नेपालमा हजारभन्दा कम जनसंख्याले बोल्ने २३ भाषा

उपेन्द्रराज पाण्डेय पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

https://ekantipur.com/koseli/2026/02/21/23-languages-spoken-by-less-than-a-thousand-people-in-nepal-50-21.html

Comments

Popular posts from this blog

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

नेपालमा बोलिने भाषाहरू

के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? : गोविन्द न्यौपाने