राष्ट्रिय जनगणनामा समुदायको चासो : गणेश राई
८० प्रश्नमध्ये ‘जात/जाति, धर्म, पुर्खाको भाषा, मातृभाषा र दोस्रो भाषा’लाई चासो राखेका छन् कार्तिक १३, २०७७ गणेश राई काठमाडौँ — राष्ट्रिय जनगणना सम्पन्न हुन करिब आठ महिना बाँकी छँदै समुदायमाझ चासो बढ्न थालेको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न गर्ने जनगणनाको तयारी तीव्र पारेसँगै चासो बढेको हो । विभागले समुदायमा चासो राख्ने विभिन्न जातजातिका संघसंगठनमार्फत भर्चुअल संवादमा जनगणनाका विविध पक्षबारे जानकारी गराउँदै आएको जनाएको छ । विभिन्न समुदायका प्रतिनिधिले विभागमा ध्यानाकर्षणपत्रसमेत बुझाउँदै आएका छन् । ‘कोरोना भाइरस फैलिन सक्ने भएकाले जनगणनाका भौतिक कार्यक्रम हुन नसके पनि स्वास्थ्य प्रोटोकल पालना गरेर विभिन्न समुदायको ध्यानार्षणपत्रहरू बुझिलिने गरेका छौं,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘उनीहरूलाई जनगणनासम्बन्धी जानकारी दिने गरेका छौं ।’ आगामी १२ औं राष्ट्रिय जनगणनामा ८० वटा प्रश्न सोधिनेछन् । त्यसलाई सामुदायिक प्रश्नावली, घर तथा घरपरिवार सूचीकरण प्रश्नावली र मुख्य प्रश्नावली गरी तीन खण्डमा विभाजन गरिए...